ओली स्वदेश फर्किए, सातबुँदे पालना नभए गठबन्धन धरापमा


काठमाडौ, श्रावण १३
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गराई स्वदेश फर्किएका छन् । ओली दाहिने हात सुन्निने फंगल समस्याको उपचार तथा आफ्नो स्वास्थ्यको चेकजाँचका लागि गत साता सिंगापुर गएका थिए ।

मंगलबार अपरान्ह्र काठमाडौं आइपुगेका ओलीले सरकार गठनअघि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति पालना नभए सत्ता गठबन्धनमा धरापमा पर्ने सक्ने संकेत दिएका छन ।
ओलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सहमति अनुसार राष्ट्रपति/उपराष्ट्रपति संसदबाट अनुमोदन हुनुपर्ने बताएका छन् । साथै उनले आफू स्वस्थ्य भएर फर्केकाले अब पार्टीको काममा पूर्ण रुपमा सक्रिय भएर लागि पर्ने भनेका छन् ।

विमानस्थलको विशिष्ठ कक्षमा ओलीलाई स्वागत गर्न उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिवहरु पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, प्रदीप ज्ञवाली,भरतमोहन अधिकारी लगायतका नेताहरु पुगेका थिए
साउन-६ गते सिंगापुर गएका ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो ।