राजनीतिक संकटबीच स्पेनमा मनाइयो राष्ट्रिय दिवस


 बार्सिलोना – क्याटालोनियाको विवादास्पद स्वतन्त्रता जनमतसंग्रहपछि उत्पन्न राजनीतिक संकटबीच मनाइएको राष्ट्रिय दिवसमा स्पेनको शाही परिवार उपस्थित भएका छन् ।

प्रधानमन्त्री मारियानो राखोयले बुधबार संसद्मा सम्बोधन गर्दै ४० वर्षे प्रजातन्त्रमा मुलुकले अहिले सबभन्दा गम्भीर खतरा भोगिरहेको बताएको भोलिपल्ट सार्वजनिक रूपमा एकता प्रदर्शनसमेत गरिएको छ । उनले बुधबार संसद्मा सम्बोधनका क्रममा क्याटालोनियाका पृथकतावादी नेतालाई स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रस्ट पार्न पाँच दिनको समय दिएका थिए ।

यदि सोमबारभित्र कार्लस पुइग्डेमोन्टले सोमबारसम्ममा स्वतन्त्र भएको घोषणा गरेको पुष्टि गरे भने उनलाई घोषणा फिर्ता लिन ३ दिनको समय दिने जनाएका छन् । त्यसो गर्न विफल भए म्याड्रिडले संविधानको धारा १५५ अनुसार क्याटलन क्षेत्रको स्वायत्तता निलम्बन गर्दै प्रत्यक्ष शासन लगाउनेछ । प्रधानमन्त्री रखोयले पुज्डमोनले जानीजानी भ्रम उत्पन्न गरेको र आफूले निश्चितता चाहेको बताएका छन् ।

उनले भने, ‘क्याटालोनियाको अहिलेको स्थितिको अन्त्य हुनु जरुरी छ । त्यहाँ जतिसक्दो चाँडो सुरक्षा र शान्ति हुनुपर्छ ।’

पृथकतावादी सरकारले क्याटलोनियामा १ अक्टोबरमा विवादास्पद जनमतसंग्रह गरेपछि स्पेनमा राजनीतिक समस्या बढेको हो । स्पेनको संवैधानिक अदालतले भने जनमतसंग्रहलाई गैरसंवैधानिक ठहर गरिसकेको छ । यसैबीच, अमेरिकाको अन्तर्राष्ट्रिय अधिकारवादी समूहले ‘क्याटालोनियाका शान्तिपूर्ण प्रदर्शनमाथि चर्को प्रहरी दमन’ भएको जनाएको छ । उसले क्टालोनियाका गिरोना र अन्य दुई गाउँमा प्रहरी दमन भएको जनाउँदै स्पेन सरकारले ‘प्रभावकारी छानबिन’ गर्नुपर्ने बताएको छ । साभार : – बीबीसी