के छन् युरोप संयोजक उम्मेदवार बिनय श्रेष्ठका एजेन्डा ?


काठमाडौँ। गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय संयोजक पदका एक प्रमुख दाबेदार मानिएका डा. बिनय श्रेष्ठ एक दशक देखि संघको अभियानमा सक्रिय रुपमा लागेका छन्।अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका डा. श्रेष्ठले संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

स्विट्जरल्याण्डसमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत डा. श्रेष्ठलाई युरोप संयोजक पदमा धेरै आकाक्षींहरु देखिए पनि योग्य उम्मेद्वारको रुपमा लिईएको छ। गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्डका संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई कार्यकाल सम्म अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। उनले संघका बिभिन्न कार्यदलहरुमा समेत जिम्मेबारी पुर्बक भूमिका निर्बाह गरेका छन्। डा. श्रेष्ठको उम्मेदवारी तथा योजनाको बारेमा नेपालीनेपाली डटकमले गरेको कुराकानीको सम्पादित अंश :-

गैरआवासीय नेपाली संघलाई तपाई कुन रुपमा लिनु हुन्छ ?

हाम्रो कर्मभूमि युरोप भएपनि नेपाल हाम्रो मातृभूमि हो, मूल घर हो । हामीलाई नेपाली माटो, परिवेश र संस्कृतिले हुर्काएको हो । म युरोपेली समाजमा घुलमिल भए पनि नेपाली भाषा, कला र संस्कृति अर्थात नेपालीपन नै मेरो मूल मर्म हो भन्ने ठान्दछु । मैले एनआरएन संघलाई नेपाल, नेपाली र गैरआवासीय नेपालीहरुका बीचको भावनात्मक पुलको रुपमा ग्रहण गरेको छु ।

संघले हरपल नेपाल, नेपाली र गैरआवासीय नेपालीहरुको सुखदुःखको साथी बन्ने कोशिस गरेको मैले पाएको छु । नेपाल र नेपालीजनको दु:खमा सक्दो मल्हमपट्टि लगाउने प्रयास गरेको देखेको छु । नेपाल र प्रवासी नेपालीबीचको सेतु बन्न यसप्रकारको संस्था हुनु आवश्यक छ र यस्तो अभियानलाई हामीले प्रतिबद्ध भएर सहयोग गर्नुपर्छ भन्ने मेरो पहिल्यैदेखिको बुझाई हो । पक्कै पनि सबैले अपेक्षा गरे जति संघले सफलता प्राप्त गर्न सकेको छैन तर हामी निरन्तर प्रयासरत छौं ।

तपाईले युरोप संयोजक पदमा उम्मेदवारी दिनु भएको छ ? के छन् तपाईका एजेण्डाहरु ?

गैरआवासीय नेपाली संघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै युरोपमा एनआरएन अभियानलाई समन्वयात्मक रूपमा अगाडि बढाउने हेतुले मैले उम्मेदवारी दिएको हुँ ।

पहिलो, युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने मेरो योजना छ ।

दोस्रो एजेण्डा हो, संघका संस्थागत चुनौतीहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउन युरोपले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

तेस्रो कुरा, प्रवासी नेपालीहरूको प्रतिनिधि संस्था गैरआवासीय नेपाली संघ भए पनि अझैसम्म पनि थुप्रै साथीहरू संस्थामा आबद्ध हुनुहुन्न । त्यस्तै दोस्रो पुस्तालाई पनि आकर्षित गर्नु आवश्यक छ । यसको निम्ति गतिशिल नेतृत्व आवश्यक हुन्छ ।

अर्को कुरा, युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने मेरो योजना छ । त्यसैगरी, नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्नेछौं। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिन मेरो भूमिका रहनेछ ।

एनआरएनमा भिजन भएका व्यक्तिहरू पाखा लागे भनेर चिन्ता छ नि ?

गैरआवासीय नेपाली संघप्रति घरदेश र परदेशमा निकै चासो र आशा रहेको छ । निःसन्देह यो संस्था यहाँसम्म आइपुग्न एनआरएन अभियन्ता र अग्रज नेतृत्वको देन छ । तर पछिल्लो समयमा विद्वान मित्रहरू, सचेत एनआरएनकर्मीहरू र पत्रकार साथीहरूले पनि एनआरएन संघमा राजनीतिकरण ज्याद्री हुनथाल्यो र भिजन भएका व्यक्तिहरू पाखा लागे भनेर चिन्ता व्यक्त गर्नु भएको छ । मेरो संस्थागत लगाव, उच्चशिक्षा र अनुभवसिद्ध प्रोफाइल खुला पुस्तक जस्तै छ । यस परिप्रेक्ष्यमा म संघका सबै सदस्यहरूलाई के निवेदन गर्न चाहन्छु भने तपाईंहरूले नेतृत्व चयनका बेला मेरो प्रोफाइल र अन्य उम्मेदवार साथीहरूको प्रोफाइललाई तुलनात्मक रूपमा हेरेर निर्णय लिनुहोस् । हाम्रो मिसनमा, हाम्रो उद्देश्यप्राप्तिमा र दूरगामी कार्यनीति लिएर संस्थालाई अगाडि बढाउने सवालमा म खरो उत्रन्छु भन्ने कुरामा म सबै मित्रहरुलाई विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

पेशाले म डाक्टर हुँ। बिगत १४ बर्ष देखि स्बिटजरल्याण्ड दिनहुँ बिरामीसँगै मेरा दिन बितेका छन्। तर गैर आबासीय नेपाली संघ एनआरएनए यस्तो संजाल बनिदियो,म लगायत म जस्तै बिभिन्न पेशामा लागेका धेरै नेपालीहरु एउटै छाता मुनि अटाउन सफल भएका छन् । त्यसैले त बिगत एक दशक देखि कुनै कुनै रुपमा एनआरएनको अभियानमा सक्रिय रहदै आएको छु।

पछिल्लो समय एनआरएन प्रती आकर्षण घट्दै गएको आभास भएको छ र यसलाई सम्बोधन एनआरएन लाइ सबैको बनाउने सवालमा युरोपका प्रत्येक एनसीसी हरु भ्रमण गरी एनआरएन सबैको भनेर बुझाउने कार्यको थालेनी तुरुन्तै गर्नेछु।