नेपाली फिल्म अग्निदहनको सार्वजनिक प्रदर्शन सुरु


पोखरा – घनश्याम लामिछाने निर्देशित नेपाली फिल्म अग्निदहनको सार्वजनिक प्रदर्शन सोमबारदेखि पोखराबाट सुरु भएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसीले सोमबार श्रीकृष्ण चलचित्र हलमा उक्त फिल्म प्रदर्शनीको सुरुआत गरे ।
त्यस अवसरमा मेयर जिसीले बोक्सी कुप्रथा अन्त्य गर्ने अभियानका क्रममा फिल्म बन्नु सह्रानीय रहेको बताए । ‘पोखरा महानगपालिकाभित्र बोक्सी प्रथा जीवित छैन, अझै रहेछ भने त्यस्तो प्रथा पछ्याउनेमाथि कारबाही गर्न हामी तयार छौं’, उनले भने, ‘जसरी सतीप्रथा अन्त्य भयो, बोक्सी प्रथा पनि अन्त्य हुनुपर्छ ।’

निर्देशक लामिछानेले फिल्म सचेतनामूलक रहेको र त्यसका लागि निकै मेहेनत गरेको जानकारी दिए । सोमबार श्रीकृष्ण हलमा अग्निदहन फिल्मको ‘स्पेशल शो’ भएको थियो । फिल्म हेर्न दर्शक खचाखच उपस्थित थिए ।

गत भदौ १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई देखाएर अग्निदहनको सार्वजनिक प्रदर्शनी थालिएको थियो । अब फिल्म प्रदर्शनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय अभियानकै रुपमा लैजाने फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले जनाएका छ ।
फिल्म ८० लाख रुपैयाँको लागतमा निर्माण भएको हो । फिल्ममा प्रमिला तुलाचन, माओत्से गुरुङ, प्रकाश घिमिरे, ताराबहादुर गुरुङ, अनुपमा भण्डारी, तुलसा जिसी, विष्णु बाँस्तोला, ओमराज पौडेल, दुर्गा न्यौपाने, लक्ष्मण ढुंगाना लगायत कलाकारहरुले अभिनय गरेका छन् । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले अग्निदहन निर्माण गरेको हो । फिल्म मैथिली र भोजपुरी भाषामा पनि बनाइने बताइएको छ । कुप्रथा विरुद्ध सचेतनामूल भएकैले फिल्म अग्निदहनलाई चलचित्र विकास बोर्डले सामाजिक चलचित्रको मान्यता दिएको छ ।