आज नाग पञ्चमी,


पोखरा , श्रावण १६ – आज शुक्रवार नाग पञ्चमी,  नागलाई  आ-आफ्ना घरको मूलढोकामाथि तिनको चित्र टाँसेर नेपालीले पूजा गर्दैछन् ।

प्रत्येक वर्ष साउन शुक्लपक्ष पञ्चमीका दिन विहान आ-आफ्ना घरमा लिपोत गरी शुद्ध गरिसकेपछि घरको मूल ढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्रलाई गोवरले टाँसिएर दुध र दुवो चढाई पूजा गर्ने हिन्दुपरम्परा छ ।

गरुड तन्त्रविष्णुवचनम्मा यस दिन घरको ढोकामाथि वा तोरणमा नागको मूर्ति अंकित चित्रलाई त्यसको चारै कुनामा गोवर राखी टाँस्ने, त्यसको माथिल्लो भागमा पनि गोवर राखी त्यसमा सिंगो सुपारी, रायो गेडा, दुवो र गाईको दुध समेत राखी विधिपूर्वक पूजा गरेमा एक वर्षसम्म नाग र गरुडको भय हुँदैन भन्ने उल्लेख छ ।

यस दिन अनन्त, बासुकी, शेष, पद्मनाभ, कम्वल, शंखपाल, धृतराष्ट्र, तक्षक, र कालिय नागहरुलाई पूजा गरिन्छ । यस दिन कालीनागको बासस्थान मानिएको ललितपुरको धापासीखेलस्थित नाग दह, कर्कोटक नागराजाको बासस्थान मानिएको दक्षिणकाली जाने बाटो चोभारसंगै रहेको टौंदह, नक्सालस्थित नागपोखरी, भक्रपुरको सिद्धपोखरी, पशुपतिमन्दिरका पूर्वपट्ट िरहेको बासुकी नागस्थान आदिमा दर्शन पूजा गर्न श्रद्धालु भक्तजनहरुको घुइंचो लाग्ने गर्दछ ।