कान्छी मोडलहरुको अभिनय रहेको म्युजिक भिडियो


पोखरा –  १० वर्षमुनिका १८ जना मोडलहरुको सामूहिक अभिनय रहेको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । सम्भवतः नेपालमै यो उमेर समूहका यति धेरै मोडलहरुको सामूहिक अभिनय रहेको यो नै पहिलो भिडियो हुन सक्ने निर्माण पक्षको दाबी छ ।

पोखरा कला केन्द्रको प्रस्तुतिमा निर्माण भएको भिडियोको सम्पादन कार्य भइरहेको बताइएको छ । अनुराग अधिकारीको रचना र नवराज बरालको सङ्गीत रहेको ‘सानी सानी नानी म त नेपालकी छोरी…’ बोलको गीतमा मेलिना राईको स्वर रहेको छ । रानी थापा मगरको मुख्य अभिनय रहेको भिडियोमा श्रेया परियार, श्रेया ढुङ्गेल, एन्जिला लामा, सुकीर्ति ताम्राकार, एलिसा रेग्मी, रेश्मा सेन ठकुरी, सविना थापा, नविका भट्टराई, कृति सुवेदी, दिया गुरुङ, महिमा बुढा मगर, कृतिना गुरुङ, वर्षा चौधरी, निलक्सना श्रेष्ठ, आरुषी कोइराला, रचना गुरुङ र सन्जिता चौधरीको अभिनय रहेको छ ।

राहुल थापा मगर र राखी थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो खिम गुरुङले खिच्नुभएको हो । भिडियोका लागि शृङ्गार र भेषभूषाको व्यवस्थापन जय गुरुङ, सृष्टि थापा र शान्ति गुरुङले गर्नुभएको हो । अत्याधुनिक ड्रोन क्यामेराको समेत प्रयोग गरिएको भिडियो पोखरा र आसपासका विभिन्न प्राकृतिक र धार्मिक सुन्दरता रहेको ठाउँमा सुटिङ गरिएको निर्देशक राहुल थापाले जानकारी दिनुभयो । तिहारलगत्तै भिडियो सार्वजनिक गरिने थापाको भनाइ छ ।