कास्की सेवा समाज स्पेनद्वारा,रिभानका बाढी पिडीतलाई सहयोग


बार्सिलोना/ कास्की सेवा समाज स्पेनले बाढीबाट विस्थापित परिबारका लागि एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। हरेक बर्ष परोपकारी काम गर्दै आएको समाजले यस बर्ष कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानका बाढी पिडीतका लागि सहयोग गरेको हो।

गत साउन २४ गते राति हुग्दी खोलामा गएको बाढीले रिभानबासी प्रभावित बनेका थिए। माछापुछ्रे गाउपालिका बडा नम्बर ६ बिपत ब्यबस्थापन समितिलाई कास्की बिश्व सम्मेलनको अबसरमा रकम हस्तान्तरण गरिएको समाजका सल्लाहकार बल बहादुर कार्कीले जानकारी दिए। स्पेनबाट पठाईएको रकम वडाध्यक्ष जुमबहादुर गुरुङले बुझेका थिए।

दुई बर्ष अघि समाजले कास्कीको लुम्ले गाविस ४, हाइजुङ्ग स्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयलाई २ लाख ५५ हजार ५ सय ५५ रुपैया र ४० हजार बराबरको स्टेशनरी सामाग्री वितरण गरेको थियो। यस्तै गत बर्ष समाजले लेखनाथको राधाकृष्ण बृद्वाआश्रममा दशैतिहारको अबसर पारेर खाद्यान्न बितरण गरेको थियो।