सामाजिक अभियान्ता इन्दिराको  पुस्तक विमोचन


पोखरा – सामाजिक अभियान्ता इन्दिरा पौडलले अभियान मार्फत गरेका सामाजिक कार्यहरु समेटिएको पुस्तक सामाजिक अभियान्ता इन्दिराको  बिमोचन भएको छ । पुस्तकको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले एक समारोहका बीच विमोचन गरेका हुन् । पौडेल ५० बर्षमा प्रवेश गरेको अवसर पारेर उक्त पुस्तक प्रकासन गरिएको हो ।

पुस्तक विमोचन गर्दै मेयर जिसीले अभियान्ता पौडेलले सामाजिक जागरण ल्याउन दिएको योगदान धेरैका लागि उदाहरणीय भएको उल्लेख गरे । ‘यहाँजस्ता समाजमा विभिन्न तरिकाले अभियान नै चलाएर योगदान दिनेहरुले समाज परिवर्तनका लागि जागरण नै ल्याउनुभएको छ,’ उनले भने, ‘समाजसेवा जस्तो विविध विषयमा यहाँहरु मार्फत हुने अभियानमा हामीपनि संँगसँगैं हातेमालो गर्न तयार छौं ।’

मेयर जिसीले पौडेलको कार्यले राजनीतिक रुपले मात्र समाजमा परिवर्तन नभई समाजिक संघसंस्था र अभियान्ताका माध्यमबाट पनि समाज परिवर्तन हुन्छ भन्ने दरिलो उदाहरण आफूलाई मिलेको सुनाए । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासन कार्यालय पोखराका उपक्षेत्रीय प्रशासक गिरधारी सुवेदीले पौडेल सानैदेखि सामाजिक जागरणका लागि उत्सुक र केही गरिरहने महिला रहेको बताए । उनले महिला, बृद्ध र बालबालिका सबै क्षेत्रमा अभियान्ता पौडेलले काम गरेको भन्दै अझैपनि अभियानमा निरन्तर सहभागि भइरहन र योगदान दिइरहन शुभकामना दिए ।

कार्यक्रममा बोल्दै अभियान्ता पौडलले आफ्ना पिता नवदत्त सुवेदीको सानै देखिको प्रेरण र विवाह पश्चात पति ध्रुव पौडेलको साथले आफूले समाजसेवा र जागरणका लागि समय निकाल्न पाएको बताइन् । समाजिक अभियानका क्रममा भोग्नुपरेका कठिनाइको चर्चा गर्दै उनले परिवर्तन पस्चात त्यस्ता कठिनाई भोग्दाको स्मरणले आफूलाई आनन्दित बनाउने अनुभव सुनाइन् ।

अभियान्ता इन्दिरा पौडेलले स्याङजामा एकल महिलालाई रातो पहिरन लगाउन उत्प्रेरित मात्र गरेकी थिइनन् । उनीहरुको सिप विकास र समाजिक रुपमा पुनस्थापित हुन आर्थिक रुपमै सबल बन्ने मार्ग पहिल्यान योगदान दिएकी छन् । एकल महिलाले लगाउने पहिरनकै कारण समाजमा महिला माथि विभिन्न लाल्छना लगाइने र अबसरबाट समेत बन्चित हुनुपर्ने भएपछि त्यसको अन्त्य गर्न जरुरी रहेकैले आफूले उक्त अभियान सञ्चालन गरेको उनले स्मरण गर्छिन् । उनले लैंगिक समानता, प्रजनन् स्वास्थ्य र आयआर्जनका लागि सिप विकास लगायतका क्षेत्रमा अभियानकै रुपमा काम गरेकी छन् ।