कहाँ-कहाँ भयो हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी


काठमाण्डौ – विहिबार ४५ जिल्लामा भएको विभिन्न मनोनयनमा हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी परेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी

तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएका छन् । ०४८, ५१ र ५६ मा सोही क्षेत्रबाट जितेका जोशीले यसपालि आफ्नो क्षेत्रमा पौडेलले अतिक्रमण गरेको आरोप लगाइरहेका छन् । नारा–जुलुससहित उम्मेदवारी दर्ता गरेका जोशीले आफू आधिकारिक भएको र पौडेल बागी भएको दाबी गरेका छन् ।

उदयपुर २ मा एमाले र माओवादी दुवै

उदयपुर २ मा एमाले र माओवादी केन्द्र दुवैले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले साँझ ६ बजे अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको मनोनयनपत्र दर्ता गराएका हुन् । उदयपुर १ मा एमाले र २ मा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भए पनि खतिवडाले पार्टी अध्यक्षले हस्ताक्षर गरेको मनोनयनपत्रसहित उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा माओवादीले सुरेश राईको उम्मेदवारी दर्ता गराएको छ ।

माधव नेपालविरुद्ध एमालेकै एलपी श्रेष्ठ

काठमाडौं २ मा नेता माधवकुमार नेपालविरुद्ध एमाले काठमाडौं जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

महोत्तरीमा महन्थ ठाकुरविरुद्ध पूर्वसांसद

महोत्तरी ३ बाट उम्मेदवार बनेका राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध पार्टीकै निवर्तमान सांसद चन्द्रेश्वर झाले उम्मेवारी दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीमा १ नम्बर सूचीमा रहेका उनी प्रत्यक्षमा लड्न आएका हुन् । सर्लाहीबाट निर्वाचन लड्दै आएका ठाकुर कांग्रेसको आग्रहमा महोत्तरी पुगेका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित झा केही महिनाअघि मात्रै राजपा प्रवेश गरेका थिए ।

सप्तरीमा उपेन्द्र यादवविरुद्ध पनि बागी

सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवार दिएका छन् । राजपा र फोरमबीच प्रदेश २ मा तालमेल भएको छ । तर, पार्टीले सल्लाह नगरी उम्मेदवार छनोट गरेको भन्दै ठाकुरले उम्मेदवारी दिएका हुन् ।

सल्यानमा माओवादीका दुईजना बागी

सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य उमाकान्त शर्मा र जिल्ला नेता ज्ञानबहादुर वलीले उम्मेदवारी दिएका हुन् । प्रदेश सभातर्फ (क) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार एमालेका गुलावजंग शाहविरुद्ध माओवादीका पोलिटब्युरो सदस्य भीमप्रकाश शर्माले बागी उम्मेदवारी दिए । यस्तै, प्रदेशतर्फ (ख) मा पनि वाम गठबन्धनका आधिकारिक उम्मेदवार प्रकाश ज्वालाविरुद्ध माओवादी केन्द्रकै जितबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

कोमल वलीको स्वतन्त्र उम्मेदवारी

लोकगायिका कोमल ओलीले दाङ ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । एक महिनाअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी उनले शीर्ष नेताहरूले आफ्नो प्रतिबद्धता कार्यान्वयन नगरेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन् ।