‘ए’ श्रेणीमा रहेका ‘गुन्डा नाइके’ प्रदेशसभाको माननीय बन्ने दौडमा


काठमाण्डौ – काठमाडौं प्रहरीको २०६० यताको आपराधिक गतिविधिमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन्। धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए। अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको।   केपी ढुंगानाले आजको नागरिक दैनिकमा खबर लेखेका छन्।

दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन्। मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ (ख) को बाट उम्मेदवार बनेका छन्। लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे।

लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन्। २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै नेपालभर आपराधिक जालो फैलाउन सक्रिय मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए।

जुन समयमा उनीहरु गम्भीर आपराधिक गतिविधिमा संलग्न थिए त्यो बेला राज्यका सबै निकाय मिलेर संरक्षण गरी सामान्य अभियोग मात्र लगाउँदा राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलै भयो – पूर्व डिआइजी हेमन्त मल्ल

होटलको बाउन्सर हुँदै लामाले मनाङेको मुख्य सहयोगीका रूपमा ठमेल क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै आपराधिक रेकर्डसँगै आर्थिक हैसियत बढाउँदै लगे। रात्रिकालीन व्यवसाय, ठेक्कापट्टा, क्रसर क्षेत्र हुँदै रक्तचन्दन तस्करीबाट उकासिएको आर्थिक हैसियत बढाएका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानमा आपराधिक गतिविधि गरेर कमाएको सम्पत्तिमध्ये खुलेकै २७ करोड देखिएको छ।

त्यही पैसाको आडमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पुच्छर समातेर राजनीतिमा प्रवेश गरेका लामा फोरम कांग्रेसमा विलय भएसँगै कांग्रेसको ‘निष्ठावान् कार्यकर्ता’ बन्न पुगेका हुन्। पटकपटकको जेलयात्रा र कमजोर राजनीतिक संरक्षणले लामाको तुलनामा मनाङे आर्थिक रूपमा केही कमजोर बने।

कहिले राप्रपा, कहिले कांग्रेस त कहिले थरुहट आडमा राजनीतिक संरक्षण लिन भौंतारिएका उनी कतै टिकेनन्। माओवादी र एमाले प्रवेश गर्ने प्रयास असफल भएपछि कमल थापाको फेरो समातेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशसँगै मनाङको जिल्ला अध्यक्ष भएपछि ‘त्रिपल पी’ गुरुङको सहयोगमा उनका लागि एमालेको ढोका खुल्यो।

प्रारम्भमै एमालेका तर्फबाट प्रदेशसभाको उम्मेदवार बन्ने उनको प्रयास नकारात्मक टिप्पणीले रोकियो। एमालेले उनको स्थानमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनायो भने मनाङेले स्वतन्त्र उम्मेदवारी दिए। आखिर यो सबै नाटक मात्रै रहेको खुल्यो। खण्डाले उम्मेदवारी फिर्ता लिइन्, एमालेले मनाङेलाई साथ दिने निर्णय गर्‍यो।

दलका केही नेताको संरक्षणमा हुर्किएका यी ‘गुन्डा नाइके’ लाई पार्टीले सार्वजनिक रूपमै स्वागत गर्नुको कारण के होला?

संगठित अपराधबारे जानकार नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल राजनीतिमा लागेर आपराधिक गतिविधि गर्नेलाई समाजले सहजै स्विकारेकाले दलले अपराध गरेकाहरूलाई काखी च्यापेको टिप्पणी गरे।

भ्रष्टाचार अभियोग प्रमाणित भएकाहरुसमेत राष्ट्रिय राजनीतिको प्रभावमै रहनु र समाजले उनीहरुलाई अस्विकार नगर्नुले आपराधिक गतिविधिमा लागेका मनाङे र लामा जस्ताको आत्मबल बढेको उनको विश्लेशण छ।

‘राष्ट्रिय रुपमा गुन्डाका रूपमा बदनाम भए पनि स्थानीय तहमा गरेका कामले उनीहरु बलियै हुन्छन्,’ मल्लले भने, ‘नेपाली समाज धेरै सहनशील छ। केही समय आलोचना गर्ने र पछि बिर्सने भएकाले दलले पनि गम्भीर रुपमा लिएनन्।’

राजनीति महँगो र विकृत हुँदै जाँदा ‘मनी’ र ‘मसल’ को प्रभाव बढेको र आपराधिक गतिविधिमा संलग्नहरुसँग दुवै शक्ति हुने भएकाले दलबीच उनीहरुलाई स्वागत गर्ने होड चलेको मल्लले बताए।

उनले भन्यो, ‘जुन समयमा उनीहरु गम्भीर आपराधिक गतिविधिमा संलग्न थिए त्यो बेला राज्यका सबै निकाय मिलेर संरक्षण गरी सामान्य अभियोग मात्र लगाउँदा राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलै भयो।’