निर्वाचन आचारसंहिताको पूर्ण पालना नगरे कडा कार्वाही


काठमाडौँ  – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

यादवले मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कार्वाही हुनेतर्फ पनि सचेत गराएका छन् ।

शुक्रबार काठमाडौंमा ‘युवाहरुका लागि निर्वाचनसम्बन्धि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरुलाई पुनः निर्देशन दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न युवाहरु प्रतिबद्ध भएर लाग्ने विश्वास गरेको छु ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए–नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ ।

अनुगमनको क्रममा भोजभतेर गरेर मतदातालाई प्रभावित तुल्याउने गतिविधि गर्ने होटलहरुलाई समेत कार्वाही हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे ।

आगामी मंसीर १० पहिलो चरण र २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभाको लागि निर्वाचन हुँदैछ ।