नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज


काठमाण्डौ – नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिए ।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले जोशीको उम्मेदवारी खारेज भएको पुष्टि गरे ।

आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ ।