सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन


पोखरा – पोखराको गण्डकी मेडिकल कलेजमा सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । चिकित्सको लापरबाहिले सुत्केरीको ज्यान गएको भन्दै आफ्न्तहरु आन्दोलनमा उत्रिएका हुन् । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गरे ।

शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ । अस्पतालले सुत्केरीको चिसोका कारण फोक्सोमा पानी जमेकाले ज्यान गएको बताएको छ ।

गत कार्तिक १० गते शुक्रबार बेलुकी गण्डकी मेडिकल कलेज पुगेकी अर्यालले भोलिपल्ट शनिबार बिहान ११ बजे छोरो जन्माएकी थिईन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । कास्कीका सिडिओकहाँ ध्यानाकर्षणपत्र बुझाउन जाँदा अस्पतालसँग नै कुरा गर्नुस् भनेर नबुझी फर्काईदिएको उनीहरुको गुनासो छ ।

आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। आफन्तजनले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर पनि जलाए । प्रहरीले पछि निभाएका थिए । प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलायो भने दुई जनालाई भ्यानमा हालेर लगेपछि भिड तितरबितर बनायो ।

पर्वत लुंखुदेउराली माईत भएकी गीताको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् । गीता कक्षा १२ मा पढ्दै थिईन् । सकुशल जन्मेका छोरा पोखरा नागढुंगा स्थित आफन्तकहाँ छन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति हुन सकेको छैन । सहमति नभएसम्म शव नबुझ्ने उनीहरुले बताएका छन् ।