बागी उम्मेदावरी दिएका टिकाराम पंगेनीको उम्मेदवारी रद्द


पोखरा – कास्की क्षेत्र नम्वर १ ‘क’ का बाम गठबन्धनका उम्मेदवार दिपक कोइराला विरुद्ध बागी उम्मेदावरी दिएका एमाले निर्वाचन कमिटि कास्कीका अध्यक्ष टिकाराम पंगेनीको उम्मेदवारी रद्द भएको छ । पंगेनी सरकारी कोषबाट आर्थिक लाभ हुने गरी तनहुँको दुलेगौंडामा रहेको गिरिजाप्रसाद कोइराला स्वास प्रश्वास केन्द्रको बोर्ड सदस्यमा कार्यरत रहेको देखिएकाले उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।तर बागी उमेद्वारी दिएका पंगेनीले भने आफ्नो उम्मेदवारी रद्द भएपछि उम्मेदवारी फिर्ता गरेको नाटक गरेका छन् ।

आफ्नो उम्मेदवारी विरुद्ध वागी उम्मेदवारी दिएपछि आक्रोशित बनेका बाम गठबन्धनका उम्मेदवार कोइरालाले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पंगेनी सरकारी कोषबाट आर्थिक लाभ हुने गरी तनहुँको दुलेगौंडामा रहेको गिरिजाप्रसाद कोइराला स्वास प्रश्वास केन्द्रको बोर्ड सदस्यमा कार्यरत रहेकाले उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गरेका थिए ।कोइरालाको माग वमोजिम निर्वाचन अधिकृतको कार्यालयले शनिबार​ आफ्नो कार्यालयमा दुवैपक्षलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा वागी उम्मेदवारी दिएका पंगेनीले आफू नेपाल सरकारको निर्णय वमोजिम पोखराको दुलेगौंडामा रहेको गिरिजाप्रसाद कोइराला स्वास प्रश्वास केन्द्रको बोर्ड सदस्यबाट राजीनामा दिएको जिकिर गरेका थिए । तर उनले राजनीनिामा दिएको भन्नेमा प्रमाणहरु दिन सकेनन् ।

पंगेनीको दाबी बमोजिम उनको उम्मेदवारीलाई निरन्तरता दिन नसकिने टुंगोमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कास्की क्षेत्र नं. १ का अधिकृत जगन्नाथ पौडेलले एक सूचना जारी गरी स्वतन्त्र​ उम्मेदवारी दिएका टिकाराम पंगेनीको उम्मेदवारी रद्द भएको जानकारी गराएका छन् । उता उम्मेदवारी फिर्ता गर्ने समय आइतबार मात्रै भ​ए पनि पंगेनीले भने शनिबार नै आफ्नो उम्मेदवारी रद्द भएको नभई फिर्ता लिएको दाबी गरेका छन् ।कास्की क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ मा पंगेनीले १६ गते स्वतन्त्र उम्मेदवारी दर्ता गरएका थिए ।कास्की क्षेत्र नम्वर १ ‘क’ मा एमालेका तर्फबाट उम्मेदवारी दाबी गर्दै आएका पंगेनी नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच बाम गठबन्धन बनेसंगै टिकट नपाएपछी असन्तुट बनेका थिए ।

यसैबीच शनिबार नै कास्की निर्वाचन क्षेत्र १ क का वाम गठबन्धनका उम्मेदवार दीपक कोइराला र वागी उम्मेदवार टीकाराम पंगेनीले पत्रकारहरु माझ कुराकानी गर्दै आफूहरुबीच कुनै बिमति नरहेको बताए । उनीहरुले अबका दिनहरुमा वाम गठबन्धनलाई एक भएर सहयोग गर्ने वचनवद्धता पनि व्यक्त गरे । उनीहरुले एकताको सन्देश जाओस् भन्नाका लागि पत्रकारहरुमाझ सामूहिक फोटो पनि खिचाएका थिए ।