नेपाली काँग्रेसको विकल्प छैन : मन्त्री यज्ञबहादुर थापा


पोखरा – नेपाली काग्रेसको तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन्।

कांग्रेस क्षेत्र नं १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आज उद्घाटन गर्दै कांग्रेसका नेता थापाले देशको समग्र आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान काँग्रेसकै बहुमतको सरकारबाट मात्रै कार्यान्वयन हुन सक्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्रदेश नं १ (ख)का उम्मेदवार कृष्ण केसी, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, काँग्रेस महानगर एकाइ समितिका सभापति वजिरमान श्रेष्ठ, नेता प्रकाशमोहन खनाल, विमल बस्याल, कोपिला रानाभाट, चन्द्रावती पौडेल, रसकुमारी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

यस्तै, कांग्रेस क्षेत्र नं १ को भेलाले क्षेत्रीय सभापति विर्जमान गुरुङको संयोजकत्वमा एक हजार १११ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ।