कास्की कांग्रेसका उम्मेदवाद्धारा २० बुँदे एजेन्डा सार्वजनिक


पोखरा – प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कास्की कांग्रेसका उम्मेदवारहरुले सार्वजनिक गरेको एजेन्डामा मतदाताका लागि निकै आकर्षक अफरका रुपमा लोभलाग्दा सपना राखिएको छ। उम्मेदवारहरुले केबलकार देखि सुरुङ मार्ग र रेल वे सम्मको एजेन्डालाई भोटको बोट फलाउने आधार बनाएका छन् ।

निःशुल्क स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक, एकल महिला, अपांगलाई निशुल्क औषधीको व्यवस्था कांग्रेस उम्मेदवारको चुनावी एजेण्डामा समेटिएका छन् । साथै पोखरामा चक्रपथ निर्माण, पोखरा अन्तराष्ट्रिय विमानस्थल, फेवा संरक्षणलाई पनि कांग्रेस उम्मेदवारले अघि सारेका छन् ।

साथै ४ ठाउँमा सम्पूर्ण पूर्वाधारयुक्त लघुशहरको निर्माण गर्ने , महानगरमा फ्लाई ओभर सडक निर्माण गर्ने, तनहु लमजुङ र मनाङलाई जोड्न मादी करिडोर निर्माण गर्ने , अन्तराष्ट्रिय हवाइ मार्गसँग पोखरालाई जोड्ने लगायतका एजेण्डा कांग्रेस उम्मेदवारले अघि सारेका छन् ।

कास्की काँग्रेसको तर्फबाट  क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा यज्ञबहादुर थापा, १(क) बाट जीवन परियार, १(ख) बाट कृष्ण केसी, क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा देवराज चालिसे, २(क) बाट गुरु बराल, २(ख)बाट विन्दुकुमार थापा , क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा शुक्रराज शर्मा, ३(क)बाट शारदा पौडेल र ३(ख)बाट भोजबहादुर गुरुङ‘सिकन्दर’ उम्मेदवार छन् ।