उम्मेदवार बन्नैपर्ने लोभका कारण दल बदल्दै नेता


काठमाण्डौ – उम्मेदवार बन्नैपर्ने लोभका कारण राजनीतिक दलका शीर्ष नेताहरू नै निर्वाचनको मुखमा दलबदलमा अघि देखिएका छन्। राष्ट्रिय राजनीतिमा चर्चामा रहने केही शीर्ष नेता हरेक निर्वाचनमा राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै आइरहेका छन्।  सुभाष साहले आजको राजधानी दैनिकमा खबर लेखेका छन्।

जनताको मत र आफूआबद्ध पार्टीको मुद्दासमेत बिर्सेर उनीहरू अवसरको प्राप्तिका लागि राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै छन्। संविधानसभाका दुई निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा दलबदल गर्नेमा मधेसवादी दलका नेता अग्रस्थानमा छन्।

दल बदल्ने र उम्मेदवार बन्नेमा सबैभन्दा अगाडि छन् विजयकुमार गच्छदार। कांग्रेसबाट राजनीति आरम्भ गरेका गच्छदार यसपटक कांग्रेसबाटै प्रतिस्पर्धामा छन्। सुनसरी–३ बाट उम्मेदवारी दिएका उनी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष थिए। निर्वाचनको केही समयअघि मात्रै उनले फोरमलाई कांग्रेसमा विलय गराए।

सदावहार चुनाव लड्ने, मन्त्री हुने नेताका रूपमा चिनिने गच्छदार कांग्रेसबाट २०४८, २०५१ र २०५६ गरी तीनैपटक सुनसरी–३ बाट सांसद चुनिएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–३ र मोरङ–७ बाट निर्वाचन जितेका उनी मोरङ–७ मा कांग्रेसका शेखर कोइरालालाई हराएका थिए।

त्यसबेला उनी मधेसी जनअधिकार फोरममा थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट प्रतिस्पर्धा गरेका उनले सुनसरी–३ बाट चुनाव जिते। तर, मोरङ–७ मा उनलाई कांग्रेसका शेखर कोइरालाले नै पराजित गरे। अहिले १० वर्षपछि पुनः कांग्रेसमा फर्किएका गच्छदार सुनसरी–३ बाट उम्मेदवार बनेका छन्।

राजनीतिक दल परिवर्तनमा छुटाउनै नहुने नाम हो रामेश्वर राय यादव। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–३ बाट निर्वाचनमा होमिएका यादव राजनीतिक दल परिवर्तन गर्नेमा प्रमुख नेता मानिन्छ। फोरम नेपाल हुँदै फोरम लोकतान्त्रिक प्रवेश गरेका यादव अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट सर्लाही–३ मा उम्मेदवार छन्।

कपिलवस्तुका अभिषेकप्रताप साह दलबदलका अर्का खेलाडी हुन्। साह मधेस आन्दोलनसँगै कांग्रेस परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका थिए। फोरम नेपालको तर्फबाट पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचन जितेका उनी अहिले पुनः कांग्रेसमै फर्किएर सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन्।

दल बदल्ने अर्का चर्चित नेता हुन जंगीलाल राय। कांग्रेसबाट तमलोपा, राजपा हुँदै उनी पुनः कांग्रेसमै फर्किएका छन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही– २ मा प्रतिस्पर्धा गरेका उनी अहिले सोही क्षेत्रबाट कांग्रेसको उम्मेदवार बनेका छन्। पार्टी जन्माउने, आफैंले जन्माएको पार्टी फोर्ने खेलाडीका रूपमा चिनिने उनी पुनः पुरानै पार्टी फर्किएका छन्।

दल बदल गर्दै उम्मेदवार हुनेमा अर्का चर्चित नेता शिवपूजन यादव हुन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाका तर्फबाट उनी सर्लाही–४ बाट उम्मेदवार थिए। यसपटक उनी सोही क्षेत्रबाट माओवादी केन्द्रका तर्फबाट प्रतिस्पर्धामा छन्। मधेस मुद्दामा खरो उत्रिने राष्ट्रिय राजनीतिमा चर्चित नेता हृदयेश त्रिपाठी यसपटक सूर्य चिह्न लिएर चुनावी मैदानमा छन्।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट उम्मेदवार भएका त्रिपाठीले राजपा त्यागेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन्। स्वतन्त्र राजनीतिक समूह गठन गरेर उनी वाम गठबन्धनसँग चुनावी तालमेलमा छन्। विगतमा नवलपरासी–४ र ६ बाट चुनाव लड्दै गर्दा उनी क्रमशः सद्भावना र तमलोपा पार्टीमा थिए।

एउटै पार्टीमा नटिक्ने अर्का नेता रामचन्द्र झा हुन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा धनुषा–१ मा एमालेका तर्फबाट प्रतिस्पर्धा गरेका झा माओवादी केन्द्र हुँदै केही समय नयाँ शक्ति पार्टीमा आबद्ध भए। यसपटक उनी धनुषा–२ मा माओवादी केन्द्रका तर्फबाट  प्रतिस्पर्धामा छन्।

दलबदल गर्नेमा पर्साका महिला नेतृ उर्मिला अर्याल पनि पर्छिन्। एमाले छोडेकी उनी अहिले माओवादी केन्द्रमा छिन्। पहिलो संविधानसभा निर्वाचनमा पर्सा–४ मा एमालेबाट उम्मेदवार बनेकी उनी दोस्रो संविधानसभा र २१ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट माओवादी केन्द्रका तर्फबाट  उम्मेदवार छिन्।

राजनीतिक विश्लेषक राजेश अहिराज उद्देश्य, जनता र मुद्दा बिर्सिने नेताहरूले जसरी पनि उम्मेदवार हुन दल बदल्ने गरेको बताउँछन्। राजनीतिक दल बदल्ने र जसरी पनि उम्मेदवार हुने नेताहरूले सिद्धान्तको नभई अवसरको राजनीतिक गर्ने उनको भनाइ छ। जनताका लागि नभई अवसरका लागि राजनीति गर्न दल बदल्ने नेतालाई स्थिर राख्न कानुन बनाई लागू गर्नुपर्ने सुझाव उनको छ।