क्याटलोनियाका पूर्व नेता र मन्त्रीहरु सशर्त रिहा


बीबीसी/अनुसन्धान गरिरहेका बेल्जियमका एकजना न्यायाधीशले क्याटलोनियाका पूर्व नेता र चारजना पूर्व मन्त्रीहरुलाई सशर्त रिहा गरेका छन्।उनीहरुले विना अनुमति बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने न्यायाधीशले बताएका छन्।एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

हालै क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनी केन्द्र सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो।स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै चुनावको घोषणा गरेका थिए।

प्रधानमन्त्रीको घोषणा अनुसार आउँदो डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव हुनेछ।उक्त कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन बेल्जियमको राजधानी ब्रसल्स पुगेका थिए।स्पेनी सरकारले निष्पक्ष सुनुवाइको सुनिश्चितता नगरुञ्जेल आफू स्वदेश नफर्कने पुज्डमोनले बताउँदै आएका छन्।

विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी मुद्दा चलाउनका निम्ति बेल्जियममा रहेका पाँचजना पूर्व नेताहरु खोजी सूचीमा छन्।१५ दिनभित्र उनीहरु बेल्जियमको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।उनीहरुलाई स्पेन फर्काउन बेल्जियमसँग ६० दिनको समयावधि छ तर ती नेताहरुले कानूनी प्रश्न नउठाएमा त्यसअघि नै फर्काइन सक्छन्।

विद्रोह, देशद्रोह र क्याटलोनियाको स्वतन्त्रता घोषणामा संलग्न रहेको आरोपबारे अनुसन्धानका लागि अन्य आठजना पूर्व क्याटलान नेताहरुलाई नियन्त्रणमा लिइएको छ।