युवा संघ र वाईसियल बाम उम्मेदवारलाई बिजयी गराउन सशक्त रुपमा लाग्ने


?

पोखरा – नेकपा एमाले र माओवादी केन्द्रका युवा संगठनहरु बाम गठवन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन सशक्त रुपमा चुनावमा लाग्ने भएका छन् ।

उनीहरुले युवाहरुलाई परिचालन गर्दै गठवन्धनको पक्षमा माहोल सिर्जना गर्ने गरि अघि वढ्ने निर्णय गरेका छन् । युवा संघ कास्की र वाईसियल कास्कीको हालै सम्पन्न भएको वैठकले जिल्लाका वाम उम्मेदवारहरुलाई विजयी गराउन जिल्ला स्तरमा संयुक्त युवा परिचालन लागि ११ सदस्सिय निर्देशक समन्वय कमिटि निर्माण गरि ५ हजार १ सदस्सिय युवा परिचालन समिति वनाएर चुनावमा होमिएको जानकारी सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

युवा संगठनहरुले तीनवटै निर्वाचन क्षेत्रमा संयुक्त युवा भेला गर्ने निर्णय गरेका छन् । कार्तिक २४ गते क्षेत्र नं १ को तालचोकमा, २५ गते क्षेत्र नं २ को एमाले पार्टी कार्यालयमा र २६ गते हेम्जामा क्षेत्र नं ३ को भेला राखिएको वाईसियल कास्कीका अध्यक्ष राम थापाले जानकारी दिए । “राजनीति प्रदुषित हुँदा विगतमा दुवै संगठनविचको सम्वन्ध तिक्त पनि रह्यो । एकापसमा लडेका संगठनहरुविच मेलमिलाप हुँदैन भन्ने सोचाई पनि थियो”, युवा संघका अध्यक्ष विष्णु पुनले भने“ हामी पार्टी एकीकरण गरेर एउटै मोर्चामा रहेर श्रमजिवी जनताको शासन व्यवस्था स्थापना गरि छाड्छौ”।
विगतमा युवाहरुलाई चुनावको वेलामा आश्वासनहरु दिएर गलत काममा प्रयोग मात्र गर्ने गरिएकोले अव त्यस्तो प्रवृत्तिलाई रोक्न आग्रह गरिने र नरोके भौतिक कारवाही समेत गरिने चेतावनी वाईसियल अध्यक्ष थापाको छ । कार्यक्रममा वाईसियलका उपाध्यक्ष सन्तोष सोनाम तथा युवा संघका सचिव डिल्लीराम अधिकारीले समेत वोलेका थिए ।