पोखरा थियटरको निर्माण कार्य अन्तिम चरणमा


पोखरा – कला, साहित्य र सङ्गीतको ऊर्वरभूमि पोखरामा बन्न लागेको नाटक घर पोखरा थियटरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको गैह्रापाटनमा डेढ रोपनी क्षेत्रफलको जग्गामा बन्दै गरेको थियटर करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण हुने अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र भित्री भागमा प्रकाश व्यवस्थापनलगायत केही काम जारी रहेको छ । गैर नाफामूलक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको थियटरमा परिवर्तनसँगै सञ्चारकर्मी दिलु गुरुङ र समाजसेवी शङ्करनाथ कोइरालाले लगानीको चाँजोपाँजो मिलाउनुभएको छ ।

यसै बीच, थियटरले पहिलो समूहको अभिनय कार्यशालाका लागि भर्ना लिन सुरु गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने ३ महिने कार्यशालामा मण्डला थियटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले सहजीकरण गर्नुहुने र पोखराका अन्य रङ्गकर्मीहरुले पनि कक्षा लिने बताइएको छ । नवनिर्मित पोखरा थियटरमै सञ्चालन हुने कार्यशालामा आधुनिक शैलीमा अभिनयका विभिन्न आयामहरुमा प्रशिक्षण दिइने बताइएको छ । सोही कार्यशालाबाट प्रशिक्षित कलाकारहरु र अन्य स्थापित कलाकारहरुको संयुक्त संलग्नतामा थियटरले पहिलो नाटक मञ्चन गर्ने लक्ष्य लिएको सञ्चालक दिलु गुरुङले जानकारी दिनुभयो ।

पोखरामा लामो समयदेखि विभिन्न नाट्य संस्थाहरुको स्थापना हुनुका साथै नाटक मञ्चन हुँदै आए पनि थियटरको अभावमा मञ्चन कार्य जटिल बन्दै आएको थियो । पोखरा थियटरको निर्माणसँगै अब भने पोखरेलीले थियटरको नाटक हेरेरै वास्तविक नाटकको स्वाद लिन पाउने थियटर समूहको दाबी छ ।