चुनावी चहलपहल तीव्ररुपमा शुरु


बाँके – प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बाँके जिल्लामा चुनावी चहलपहल तीव्ररुपमा शुरु भएको छ ।

निर्वाचन कार्यालयमा बागी उम्मेदवारले उम्मेवारी फिर्ता लिएपछि र निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेसँगै चुनावी माहोल शुरु भएको हो ।
चुनावलाई लक्षित गरी जिल्लाका सबै राजनीतिक दलले चुनावी अभियानलाई अगाडि बढाउँदै भोट माग्न गाउँ केन्द्रित भएका छन् । मतदातालाई अहिले धान भित्र्याउने कामको चटारो भए पनि उम्मेदवार मत माग्नमा व्यस्त देखिन्छन् ।

जिल्लाका लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् ।

जिल्लामा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेशीकेन्द्रित दलबीच प्रतिष्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन् ।

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँकेमा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र तोकिएको छ भने जिल्लामा दुई लाख ७६ हजार ७१८ मतदाता रहेको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो । रासस