क्याटलोनियामा एक दिने हडताल, नेता पक्राउको विरुद्धमा प्रदर्शन


बीबीसी/ स्पेनमा दशजना पृथकतावादी नेताहरुलाई निरन्तररुपमा हिरासतमा राखिएको विरोधमा क्याटलान क्षेत्रमा भएका प्रदर्शनले सो क्षेत्रका सबै नगरमा प्रभाव परेको छ। सबै प्रमुख राजमार्गहरुमा प्रदर्शनकारीहरु पुगेका छन् भने रेलवे स्टेशनहरु पनि बन्द छन्।
एक दिने हडतालका क्रममा उक्त क्षेत्रका विश्वविद्यालयहरु पनि बन्द रहे।

क्याटलान सरकारी भवन बाहिर जम्मा भएको भिडले गत महिना क्याटलान संसदले एकपक्षीय रुपमा स्वतन्त्रताको घोषणा गरे लगत्तै बर्खास्त गरिएका १३ जना क्षेत्रीय मन्त्रीहरुसंग ऐक्यबद्धता जनाएको छ।ती मध्ये आठजना अनि दुई अन्य नेताहरु अझै हिरासतमै छन्।
क्याटलान नेता कार्लस पुज्डमोन सहित अरु पाँच जना भने ब्रसल्स गएका छन्। स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले संसदमा बोल्दै आगामी महिना हुने क्षेत्रीय चुनावमा व्यापक सहभागिताको आश गर्दै त्यसपछि स्पेनले अर्को अध्याय शुरु गर्ने बताए।
यसबीच स्पेनका विदेशमन्त्री आल्फोन्सो डास्टिसले कतिपय क्याटलान जनताका आकांक्षा समेट्न संविधानमा संशोधनबारे एक संसदीय समितिले विचार गरिरहेको बताएका छन्।

त्यहाँको राजनीतिक अवस्थालाई विचार गर्नुपर्ने विषयबारे सरकार जानकार रहेको उनले बीबीसीलाई भने।तर कुनै पनि त्यस्ता संशोधनलाई सबै स्पेनी सामेल भएको जनमतसंग्रह मार्फत अनुमोदन गरिने उनले बताए।