कास्की क्षेत्र नं. १ मा बाम गठबन्धनको चुनावी अभियान सुरु


पोखरा – कास्की क्षेत्र नं. १ मा बाम गठबन्धनको चुनावी अभियान सुरु भएको छ । मादी गाउँपालिकाको सिक्लेसबाट बुधबार चुनावी अभियान सुरु भएको हो । चुनावी अभियानका क्रममा बाम गठबन्धनबाट प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ का साझा उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा तर्फ ख का उम्मेदवार मनबहादुर गुरुङलाई सिक्लेसबासीले भव्य स्वागत गरेका छन् । फूल, माला, अबिर, टीका र बाजागाजा सहित स्थानीयले स्वागत गरेका हुन् । स्थानीयले उम्मेदवारहरुको टाउको नै छोपिने गरी माला लगाइदिएका थिए । बाम गठबन्धनका साझा उम्मेदवार अधिकारी र गुरुङलाई जिताउन सूर्यमा मतदान गर्ने सिक्लेसबासीले प्रतिबद्धता समेत व्यक्त गरे ।

चुनावी अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर १ का उम्मेदवार खगराज अधिकारीले सिक्लेस लगायत समग्र कास्कीको विकासका लागि बाम गठबन्धनको सरकार अनिवार्य रहेको बताए । पूर्व स्वास्थ्य मन्त्री तथा एमाले सल्लाहकार परिषद्का केन्द्रीय उपाध्यक्ष समेत रहेका अधिकारीले पोखराबाट सिक्लेसम्मको बाटो ३ वर्षभित्र पिच बनाउने प्रतिबद्धता व्यक्त गरे । सिक्लेसलाई केन्द्रमा राखेर पर्यटकीय केन्द्र बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘गुरुङ जातिको संरक्षण र संस्कृतिका अनुसन्धान केन्द्र बनाउँछौं,’ उनले भने ।

कास्की १ ख तर्फ प्रदेशसभाका उम्मेदवार मनबहादुर गुरुङले चुनावी अभियान आफ्नै गाउँबाट गरेको बताउँदै गाउँको विकासमा सधैं सक्रिय हुने बताए । आफू सिक्लेसको छोरो भएकाले सिक्लेसबासीको सम्पूर्ण भोट पाउने उनले विश्वास व्यक्त गरे । ‘जनप्रतिनिधि भएर म काम गर्न चाहन्छु,’ उनले भने, ‘म सधैं जनताप्रति उत्तरदायी रहन्छु । काम गर्ने अवसर दिनुहोस् ।’ सिक्लेसलाई पर्यटकीय गाउँका रुपमा विकास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कला संस्कृति विकास समिति गठन सिक्लेसको कला संस्कृतिको संरक्षणमा आफू सक्रिय हुने उनले बताए । सिक्लेसबाटै विजयी जुलुस निकाल्ने समेत गुरुङले उद्घोष गरेका छन् ।

एमाले प्रदेश नम्बर ४ संगठन कमिटिका सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक श्रीनाथ बरालले सिक्लेस क्षेत्रको समग्र विकासमा अबको बाम गठबन्धनको सरकारले प्राथमिकता दिने बताए । ‘पर्यटन प्रवद्र्धनलाई लक्षित गरी ट्रेकिङ रुटहरुको प्रवद्र्धन गर्दै हामी यहाँको विकासमा सक्रिय हुनेछौं,’ उनले भने, ‘अब हामीलाई विकास चाहिएकाले विकासको नेतृत्व गर्ने बाम गठबन्धनलाई मतदान गर्न आवश्यक छ ।’माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङले सिक्लेसमा गुरुङहरुको अध्ययन प्रतिष्ठान खोलिनुपर्ने बताए । ‘गुरुङहरुको संस्कार र संस्कृतिलाई हराउन दिनुहुँदैन,’ उनले भने, ‘सिक्लेसमा रहेको तमुहरुको संस्कृति संरक्षणमा बाम गठबन्धनले सघाउँछ ।’

माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष विश्वप्रकाश लामिछानेले बाम गठबन्धनले नेपालको समृद्धिको लागि भोट मागिरहेको बताए । ‘काँग्रेस सत्तामा मात्र जान्छ तर देशका लागि केही गर्दैन,’ उनले भने, ‘अब मुलुकको दीगो विकासका लागि बाम गठन्धनको बहुमतको सरकार अनिवार्य छ ।’ शान्ति प्रक्रियाको शुभारम्भ सिक्लेसबाट भएको स्मरण गर्दै उनले विकासको सुरुवात पनि सिक्लेसबाटै हुनुपर्ने लामिछानेले बताए । सिक्लेसलाई पर्यटकीय केन्द्र बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बाम गठबन्धनले बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने र देशको विकास गर्ने धारणा राखे । सिक्लेस तथा मादी गाउँपालिकाको विकासमा आफूहरु लाग्ने उनले बताए । एमालेका मादी गाउँपालिका १ का संगठन कमिटिका सचिव देविजंग गुरुङले विकासका लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङले गीत मार्फत बाम गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।