नेपाली काँग्रेस कास्कीद्धारा प्रचारलाई तिव्रता


पोखरा-आसन्न प्रतिनीधिसभा चुनाव र प्रदेश चुनावमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि ‘सेड्युल’ नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

‘प्रदेश र प्रतिनीधि सभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जनै प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध गराईसकेका छौँ ।’ नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले भने–‘एकदमै व्यवस्थित तरिकाले उहाँहरुको घरदैलो र चुनावी सभाको तयारी गरेका छौँ ।’

त्यस्तै पार्टीले प्रचारका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । पार्टीका विभिन्न संघसंस्थाहरुसँग निर्वाचन समितिले आन्तरिक सरसल्लाह समेत गरिरहेको छ । त्यस्तै उम्मेदवारहरुले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न हिसाबले प्रचारलाई तिव्रता दिईरहेका छन् ।

यसैबिच कास्की क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका देवराज चालिसेले दुईपटकसम्म निर्वाचित भएर पनि रविन्द्र अधिकारीले पोखराको लागि केहि गर्न नसकेको बताए । पटक पटक मौका पाउँदा पनि केहि गर्न नसक्नु ‘कमजोरीको हद’ भएको उनको बुझाई छ ।

उनले कास्कीले यसअगाडिका निर्वाचित सदस्यले संसद विकास कोष वाहेक अरु कुनै शिर्षकमा पोखराको विकासका लागि वजेट नछुट्टाएको आरोप लगाए । ‘गफ गरेर, मिठो हाँसेर चिल्ला कुरा गर्दैमा विकास हुँदैन ।’ उनले भने–‘यसको लागि दृढ इच्छाशक्ति र राजनीतिक स्थिरता आवश्यक हुन्छ ।’

विकास गर्नुभन्दा हुन लागेको विकासका काममा पनि ¥याल काढेर बस्ने परिपाटी यस अगाडिका निर्वाचित प्रतिनीधिले देखाएको उनले आरोप लगाए । उनले पोखरा विमानस्थलको उदाहरण दिँदै त्यहाँ पनि भ्रष्टाचार भएको माओबादीले प्रत्यक्ष रुपमै र एमालेले अप्रत्यक्ष रुपमा त्यसको भाग बाँडेको बताए ।

उनले आफु राजनीतिक रुपमा अनुशासित र आर्थिक हिसाबले पारदर्शी भएको दाबी गरे । ‘मलाई कुनै लोभ छैन । म निर्वाचित भएको खण्डमा मैले पाउने सबै तलब र भत्ता जनतालाई आवश्यक पर्ने कामका लागि खर्च गर्नेछु । त्यसको एक रुपैयाँ पनि मैले व्यक्तिगत रुपमा खर्च गर्नेछैन ।’ उनले भने । उनले एमाले र माओबादी नै धोकेबाज पार्टी भएकोले काँग्रेसलाई भोट गर्न सम्पूर्ण पोखरेलीलाई आग्रह समेत गरे ।

प्रचारप्रसारको क्रममा देवराज चालिसे बुधबार नेपाली काँग्रेसले आयोजना गरेको अखण्ड नेपाल पार्टी स्वागत कार्यक्रम, क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन, नेपाल तरुण दलको भेटघाट लगाएत पोखरा ८ को कार्यकर्ता भेलामा सहभागी भए ।