काठमाडौं पोखरा बेल्टमा रेल निर्माण सहज : चिनियाँ टोली


पोखरा – नेपाल भ्रमणमा रहेको चिनियाँ रेल अध्ययन टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको अध्ययन टोलीले काठमाडौं पोखरा बेल्टमा रेल निर्माण सहज देखिएको भन्दै उत्साही बनेको छ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार स्थलगत अवलोकनपछि उनीहरुले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरको प्रतिक्रिया थियो । उनीहरु पोखराको विरौटामा बुधबार विहान स्टेसनका लागि अध्ययन गरेको उनले बताए ।

‘पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकनपछि सकारात्मक प्रतिक्रिया दिएका छन् , अब बिहीबार यो टोलीले लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्दैछ,’ उनले भने,’चिनियाँ टोलीको प्रतिक्रियालेहामी पनि उत्साहित छौं ।’

केरुङ काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली सोमबार काठमाडौं आएको हो । सोमबार देखि उनीहरुले निरन्तर रेलका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेको छ । काठमाडौबाट पोखरा हुँदै बुटबल लैजाने कि मुग्लिन क्षेत्रबाट छुटाएर पोखरा र बुटबलका दुई रुट बनाउने भन्ने बारेमा समेत छलफल भएको उनले बताए ।

नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ । तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म जोड्ने योजना छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र पर्छ, उक्त रेलमार्ग । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अगाडि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग त्यस सम्बन्धी सम्झौता भएको छैन । विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै उक्त रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ ।

चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमानासम्म रेलवे विस्तार गरिनेछ । चिनियाँ अनुसन्धानकर्ताहरुले यो रेल सेवा द्रुत गतिको भने नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताएको पीटीआईले जनाएको छ । चीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मै रेल पुर्‍याएको छ । त्यसपछि २५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपुर्‍याएको छ