कास्कीमा कांग्रेसका उम्मेदवार विरुद्ध वागी दिएका पालिखे पार्टीबाट निश्काशित


कास्की– अनुशासनमा नबसी निर्वाचनमा असहयोग गर्ने गरि बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली काँग्रेस कास्कीले नरेशशंकर पालिखेलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।
पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासन भन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई सहयोग नगर्न उसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन समेत दिएको छ ।
नेपाली कांग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको बताईएको छ । विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखत देखि नै काँग्रेसको महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।’

पालिखेले कास्की क्षेत्र नम्बर २ ख बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् ।