काँग्रेसले चुनावका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा कार्यकर्ताको परिचालन, समन्वय, जनसम्पर्क र निर्वाचन क्षेत्रको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

बैठकले पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यका साथै लोकतन्त्रवादी सबैलाई काँग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानमा सरिक हुन पनि आह्वान गरेको पार्टी कार्यालयले जनाएको छ ।
समिति संयोजक बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकले काठमाडौँस्थित काँग्रेसका जिल्ला सम्पर्क समितिलाई पनि निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिताको परिधिभित्र रही हरेक निर्वाचन क्षेत्रमा घोषणापत्रसहित प्रचारप्रसार सामग्री केन्द्रबाट निर्वाचन क्षेत्रमा नै पर्याप्त संख्यामा पुर्याउने निर्णय गरेको छ ।

बैठकले निर्वाचनमा पार्टीका कार्यकर्ता, भ्रातृ संगठन, शुभेच्छुक संघसंस्था र पेशागत संघसंस्थाको प्रभावकारी परिचालनका सम्बन्धमा रायसुझाव संकलन गरी रणनीति तयार गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए । रासस