कार्यकर्ताहरुलाई अहोरात्र खट्न कास्की काग्रेसका उम्मेदवारको अाग्रह


?????

पोखरा – कास्कीको तीन वटै क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनीहरुले आफ्नो पक्षमा भोट मागिरहेका छन् ।

लोकतन्त्र र सम्बृद्ध नेपालको लागि काँग्रेसलाई भोट दिन आग्रह गरिरहेका उम्मेदवारहरुलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भएको वताईएको छ । युवायुवतीदेखि वृद्धवृद्धासम्मले कास्कीका तीन वटै क्षेत्रमा उम्मेदवारहरुलाई बहुमतले विजयी गराउने वचन दिएको कास्की काँग्रेसका सदस्य नविन सिग्देलले दावी गरेका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीले बिहीबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा घरदैलो गरेको छ। क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापा, प्रदेश सदस्य उम्मेदबार कृष्ण केसी, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङ, जिल्ला सदस्य नवीन सिग्देल, परिचालन समितिका महासचिव कृष्ण कोइराला लगायत सहभागि थिए।

सोहि वडामा स्थापना गरिएको प्रचार कार्यालय पनि बिहीबार नै उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै कानुन मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदबार यज्ञबहादुर थापाले यसपटक विजयी गराई गुन लगाउन आग्रह गरे। जितेपछि जनचाहाना अनुसार काम गर्छु उनले भने – ‘जनताले लगाएको गुन विर्सन्न।’कास्की काँग्रेसका सभापति एवं प्रदेशसभा सदस्य उम्मेदबार कृष्ण केसीले स्थानीय
आवश्यकतालाई प्राथमिकता दिने उल्लेख गरे। उनले जनताको सेवामा समर्पित रहेर सदैव अघि बढ्ने उल्लेख गरे। महाधिवेशन प्रतिनिधि किशोरदत्त बरालले कम्युनिष्ट गठबन्धनले लोकतन्त्र खतरामा परेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गरे । त्यस्तै क्षेत्र नम्बर १ क मा पनि प्रदेश उम्मेदवार जीवन परियारसहितको टोलीले घरदैलोमा पुगेर आफ्नो पक्षमा भोट हाल्न अपिल गरेको थियो ।

त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत देवराज चालिसे, गुरु बराल र बिन्दुकुमार थापासँगै अन्य समानुपातिक उम्मेदवारहरु पनि घरदैलोमा सहभागी छन् । उम्मेदवारहरुले विहिबार क्षेत्र नम्बर २ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ मा घरदैलो गरेका थिए । काँग्रेसको वडा ईकाई सभापति गोबिन्द पराजुलीको नेतृत्वमा प्रत्यक्ष प्रतिनीधि सभा उम्मेदवार देवराज चालिसे, प्रदेश ख का उम्मेदवार बिन्दुकुमार थापा र समानुपातिक उम्मेदवार आनन्दराज मुल्मी लगाएतले जनताको घरदैलोमा पुगेर भोट मागे ।

उनीहरु गणेशटोल, बागलुङ बसपार्क, कालिमाटी, बुढानिलकण्ठ, रामकृष्णटोल, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै सर्वेश्वरमार्गसम्म मतदाताहरुको घर–घरमा पुगेका थिए । ‘हामी जब मतदाताहरुको घर घरमा पुग्यौँ, हामीलाई निकै राम्रो प्रतिक्रिया मिल्यो ।’ प्रतिनीधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दिएका देवराज चालिसेले भने–‘जनताले यस क्षेत्रमा नयाँ अनुहार खोजेका छन् । जनता यस अगाडिका निर्वाचित प्रतिनीधिबाट सन्तुष्ट छैनन् ।’

घरदैलोको क्रममा उनीहरुलाई वृद्धवृद्धाहरुले जीतको आर्शिवाद समेत दिएका थिए । घरदैलोको क्रममा बागलुङ बसपार्क पुग्दा उम्मेदवारहरुलाइृ ८४ वर्षिय वृद्ध गणेशबहादुर गुरुङले खादा तथा माला लगाईदिँदै जीतेर आउने आर्शिबाद दिए । उनले काँग्रेसले हारे देश बिग्रने चिन्ता समेत व्यक्त गरे ।

क्षेत्र नम्बर २ क बाट उम्मेदवारी दिएका गुरु बराल विहिबार दिनभर जसो आन्तरिक भेटघाटमा व्यस्त रहे । उनले पार्टीका विभिन्न भातृ संगठनहरुसँग व्यक्तिगत रुपमा आफ्नो लागि माहौल बनाउन आग्रह गरे । उनले आफ्नो क्षेत्रमा विशेष हिसाबले प्रचारलाई तीव्रता दिईरहेको बताएका छन् ।

त्यसैगरि उता कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पनि उम्मेदवारहरुले विहिबार जनताको घर घरमा पुगेर आफ्नो पक्षमा भोट मागेका छन् । त्यस्तै उनीहरु वडा नम्बर २५ मा सम्पर्क कार्यालय स्थापनामा पनि सहभागी भए । घरदैलो सँगै कास्की ३ नम्बर क्षेत्रमा कार्यकर्ता भेला समेत भएको थियो । जसअनुसार भेलाले त्यस क्षेत्रमा चुनाव प्रचारप्रसारलाई व्यवस्थित बनाउनका लागि विष्णुबहादुर क्षेत्रीको सँयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

साथै सोहि भेलाले कात्तिक २७ गतेभित्र निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण वडामा प्रचारप्रसार समिति गठन गर्ने, प्रत्येक वडामा सम्पर्क कार्यालय स्थापना गर्ने र काँग्रेसका सबैखाले भातृ संगठनहरुलाई व्यवस्थित रुपमा प्रचारमा उपयोग गर्ने निर्णय समेत गरेको छ । सो भेलामा केन्द्रीय प्रतिनीधिसभामा उम्मेदवारी दिएका शुक्रराज शर्मा र प्रदेशमा उम्मेदवारी दिएकी शारदा पौडेलको उपस्थिती रहेको थियो ।

उम्मेदवारहरुले भेलालाई सम्बोधन गर्दै कार्यकर्ताहरुलाई अहोरात्र खट्न आग्रह गरे । उनीहरुले काँग्रेसले हारेमा लोकतन्त्र संकटमा पर्ने भन्दै लोकतन्त्रलाई बचाउन पार्टीले जित्नैपर्ने दबाबमा रहेकोले कार्यकर्ताहरुले यसमा विशेष जोड दिनुपर्ने बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ ख मा तरुण दलको भेला समेत बसेको थियो । प्रदेश ख बाट उम्मेदवारी दिएका शिकन्दर कुमार गुरुङ ‘भोजबहादुर’ समेत भेलामा सहभागी थिए । उनले तरुणहरुलाई चुनाव प्रचारमा दिलोज्यान दिएर लाग्न आग्रह गरे ।