पोखराको नेसनल आर्ट स्कुलले नाटक प्रदर्शन गर्ने


पोखरा – पोखराको नेसनल आर्ट स्कुलले नाटक प्रदर्शन गर्ने भएको छ । प्रदेश नम्बर ४ मा पहिलोपटक खुलेको नाटक कला अध्ययन गराउने नेसनल आर्ट स्कुलले मंसीर २९ र पुष १ गते ‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शन गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मंसीर २९ र पुष १ गते अपराह्न ३ बजे १÷१ सो प्रदर्शन गर्ने स्कुलका संस्थापक निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

नेसनल आर्ट स्कुलको प्रस्तुतीमा प्रदर्शन हुन लागेको नाटकको लेखन तथा निर्देशन उदासीको रहने भएको छ । यस नाटकबाट नाट्य कलाकार ममता मञ्जुल सह निर्देशकको रुपमा उदाउने भएकी छिन् । कलाकारसमेत रहेकी उनले निर्देशनमा डेब्यू गर्न लागेकी हुन् । नाटकका कलाकारहरुमा ममता मञ्जुल, निश्चल विमल, एलिसा विक, कृष्ण पौडेल, पार्वती थापा, विष्णु तिमिल्सिना, कुशल अधिकारी, लक्ष्मी न्यौपाने, सोनिया खत्री र प्रवेश श्रेष्ठ रहने भएका छन् । लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजनमा प्रदर्शन हुन लागेको ‘बार्दलीको छेउबाट’ नाटकको तयारी शुरु गरिएको नाटकका निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

‘बार्दलीको छेउबाट’ सामाजिक प्रयोगबादी नाटक भएको निर्देशक उदासीले बताए । सामाजिक यथार्थमा आधारित प्रयोगबादी यस नाटकमा सामाजिक, आर्थिक, राजनीतिक बिसंगति, विकृतिलाई उठाउँदै यसले समाजमा ल्याएको पारिवारिक बिखण्डन र बिचलनलाई सरल ढंगमा उजागर गर्ने प्रयास गरिने उनले बताए । नेपालमा करीब ३३ प्रतिशत मानिस डिप्रेसनमा रहेको दाबी गर्दै निर्देशक उदासीले नाटकमा डिप्रेसनको कारण खोतल्ने प्रयास गरिने बताए ।
नेसनल आर्ट स्कुलले प्रदर्शन गर्न लागेको ‘बार्दलीको छेउबाट’ नाटकमा स्कुलका पहिलो ब्याचका शिक्षार्थीलाई अवसर दिइएको छ । पहिलो ब्याचमा सफलतापूर्वक उत्पादन गरेको कोर्ष पूरा गरेका शिक्षार्थीलाई नै प्राथमिकता दिएर कलाकारको रुपमा अवसर दिइएको निर्देशक उदासीले बताए ।

कार्यक्रममा स्वागत स्कुलकी संस्थापक÷ब्यबस्थापक ममता मञ्जुल र सञ्चालन स्कुलका मिडिया को–अर्डिनटर तथा पत्रकार सन्देश श्रेष्ठले गरेका थिए ।