विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउछु : रायमाझी


काठमाडौँ –  माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने बताएका छन् । युवाहरूलार्इ स्वदेश फर्काउनका लागि पूर्वाधार तयार गरिने नेता रायमाझीले बताए ।

उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको बताए ।

गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

उनले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना माओवादीले राखेको जानकारी दिए ।

उनका सल्लाहकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताए ।

त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ । रासस