कम्युनिष्टको गठबन्धन तोड्नुपर्नेमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको जोड


पोखरा –  नेपाली काँग्रेसका नेता उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटन पछि बोल्दै उनले संविधान कार्यान्वयन र देशको समृद्धीका लागि काँग्रेसलाई नै विजयी गराउनुपर्ने जिकीर गरे ।

‘संसारबाट लोप भएको कम्युनिष्टलाई हामीले नेपालमा स्वागत गर्नुछैन, उनी भन्छन्–अहिले मुख हेर्ने हैन रुख हेर्ने हो । आँखा चिम्लेर चारवटै छाप काँग्रेसको रुख चिह्नमा लाउनुस् ।’उनले भने–‘अनि त्यसपछि नेपालमा पनि कम्युनिष्ट लोप हुनेछन् ।’कम्युनिष्टको चाहाना साम्यवादी अधिनायकवाद भएको आरोप लगाउँदै उनले कम्युनिष्टको गठबन्धन तोड्नुपर्ने बताए । कम्युनिष्टहरु मिलेर नेपालीले पाएका अधिकार खोसेर एकदलीय शासन ल्याउन खोजेका छन् । काँग्रेससँग जीवन र मरणको सवाल छ, श्रेष्ठले भने–काँग्रेसले मात्रै निकास निकाल्न सक्छ र विकास गर्न सक्छ ।’

राम्रो कामका लागि काँग्रेसलाई भोट गर्नुस् ः देवराज चालिसे

कार्यक्रममा कास्की २ का प्रदेशसभा सदस्य उम्मेदवार देवराज चालिसेले अत्याधिक मतका साथ काँग्रेस विजयी हुने भन्दै सक्रियताका साथ तयारी गर्न आग्रह गरे । ‘जनता कुनैपनि पार्टीको पेवा होईनन् । राम्रा कामका लागि जनताले मतदान गर्नेछन्, उनले भने–हाम्रा एजेण्डा जनता समक्ष पु¥याउनुपर्छ । चुनाव हामी जित्छौं ।’ जनताले विकास र समृद्धी चाहेका भन्दै चालिसेले त्यसको जिम्मेवारी काँग्रेसले लिने दावी गरे ।

संविधान भत्काउनेहरुलाई भोट नदिनुस् ः गुरु बराल

क्षेत्र नम्बर २ क का उम्मेदवार गुरुप्रसाद बरालले अहिलेको निर्वाचन संविधान बलियो बनाउने र भत्काउने बीचको प्रतिस्पर्धाको रुपमा अथ्र्याए । उनले वाम गठबन्धनलाई संविधान भत्काउनेको रुपमा इंगित गर्दै जनतालाई उनीहरुको फोस्रो आश्वासनमा नभुल्न आग्रह गरे ।

त्यस्तै उनले आफ्नो प्रदेश शहरी र ग्रामिण परिवेशले भरिएको उल्लेख गर्दै प्रदेश अन्रतगत पर्ने ग्रामिण ईलाकालाई महानगरस्तरिय विकासको गतिविधि अगाडि बढाउने वचनबद्धता व्यक्त गरे । उनले ग्रामिण ईलाकामा बाइपास रोडको आवश्यकता रहेको र त्यसका लागि आफु निर्वाचित भएसँगै काम अगाडि बढाउने बताए । साथै उनी शुक्रबार आन्तरिक भेटघाटमा व्यस्त बने । उनले आफ्नो क्षेत्र अन्तरगत पर्ने मतदाताहरुसमक्ष आफ्नो पक्षमा भोट दिन आग्रह समेत गरेका छन् ।

यस क्षेत्रको सम्बृद्धिका लागि मेरो उम्मेदवारी ः विन्दुकुमार थापा

क्षेत्र नम्बर २ प्रदेशसभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आफनो जितले पोखरा र समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । ‘पोखरा विकासको लागि मेरो उम्मेदवारी हो ।” उनले भने–अबको लक्ष्य नै आर्थिक समृद्धि हो ।

यो अभियानबाट कोही पनि टाढा जान सक्दैन ।’ देशको मुहार फेर्नलाई पनि काँग्रेसलाई भोट दिनुपर्ने उनको भनाई छ । क्षेत्र नम्बर २ अन्तर्गत शुक्रबार पोखराका विभिन्न वडाहरुमा उम्मेदवारले स्थानीयसँग भलाकुसारी गरेका छन् । विकास र समृद्धीको एजेण्डा सहित काँग्रेस उम्मेदवारहरु वडा नम्बर १५, ७ र ८ नम्बर वडामा घरदैलो गर्न पुगेका थिए ।

ईकाई सभापति टोपबहादुर थापको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पराजुली र जिल्ला सदस्य पिनबहादुर गिरीले स्वागत गरेका थिए । कार्यक्रममा कास्की २ का प्रदेशसभा (क) का निर्वाचन प्रचार समिति संयोजक केशर निर्दोषी (ख) का संयोजक वीरेन्द्रनारायण विजुक्छे, क्षेत्रीय सभापतिहरु बिजयराज आचार्य र माधव बास्तोला, क्षेत्र नम्बर २ का चुनावी प्रचार संयोजक शोभियतबहादुर अधिकारी लगाएतले बोलेका थिए ।