जानेको फुटबलमै हो, फुटबलबाट टाढिने छैन : अनिल गुरुङ


काठमाण्डौ –  ओमानी गोलकिपर अली अल–हब्सीले जर्मन महारथी बायर्न म्युनिखविरुद्ध यूईएफए कप (सन् २००७–०८) मा उत्कृष्ट प्रदर्शन गरेपछि खेल बराबरीमा टुंग्याएका थिए । त्यसबेला इंग्लिस प्रिमियर लिग क्लब बोल्टन वन्डर्समा रहेका सम्हालेका अल–हब्सी ओमानका पनि मुख्य गोलकिपर थिए । नेपाली फरवार्ड अनिल गुरुङले १० वर्षअघि यिनै गोलकिपरविरुद्ध पहिलो रोजाइमा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

नेपाली राष्ट्रिय टिम र ओमानको खेल थियो, २०१० विश्वकप छनोट । एसियाली छनोटको पहिलो चरणको पहिलो लेग मस्कटमा थियो र त्यसमा अल–हब्सीको टिम ओमानले २–० को जित निकाल्यो । नेपालको तुलनामा निकै माथिल्लो स्तरको टिमविरुद्ध अनिलले तहल्का त मच्चाउन सकेनन् तर त्यहींबाट सुरु अन्तर्राष्ट्रिय फुटबलको करिअरमा भने उनी ‘बिट’ मार्ने स्थितिमा आइपुगेका छन् ।

एसियन कप २०१९ को छनोटमा मंगलबार नेपाल र फिलिपिन्स सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्दै छन् । र, यसैलाई उनले बुट थन्क्याउने उपयुक्त अवसरका रूपमा लिएका छन् । ‘संयासबारे पहिले पनि सोचेको थिएँ तर पछिल्लो समयमा खेल (लिग) नभएपछि घरेलु मैदानमा औपचारिक अन्तर्राष्ट्रिय खेल भइरहेको छैन । यो नै संन्यास लिनलाई मेरो लागि सबभन्दा राम्रो हुन्छ भन्ने लाग्यो,’ अनिलले भने ।

उनी गत वर्ष त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमका कप्तान बनेका थिए । पहिलो रोजाइमा निरन्तर नरहे पनि उनले नै त्यसयताका अधिकांश प्रतियोगितामा नेपाली टिमको नेतृत्व गरिरहेका छन् । प्रशिक्षक ग्योतोकु कोजीले मंगलबार एन्फा कम्प्लेक्समा मैदानमा उतारेमा उनको ५० क्यापको कोसेढुंगा पनि पूरा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र परिवारसँग सल्लाह गरेरै आफूले संन्यास लिने निर्णय गरेको उनले बताए ।

‘एन्फा नेतृत्वसँग पनि कुरा भइसक्यो । त्यसैले फिलिपिन्सविरुद्ध अन्त्यतिर मैदानमा प्रवेश गरेर भए पनि ५० क्याप पूरा गर्न पाउने सोचेको छु । म योभन्दा बढी खेल्ने खेलाडी हो तर समयले गर्दा यति नै हुने भयो,’ यमनसँगको खेलअघि जापानमा ट्रेनिङ गरेर फर्कंदा नै संन्यास लिने तयारी गरेको उल्लेख गर्दै उनले भने, ‘पहिलो प्रयासमा यू–१६ को क्याम्पसम्म पुगेको थिएँ । त्यसपछि यू–१९ र यू–२३ टिमबाट खेल्दै राष्ट्रिय टिममा पुगेको थिएँ । यसरी हेर्दा १२–१३ वर्ष अन्तर्राष्ट्रिय फुटबल खेलेछु । जब जापानमा ट्रेनिङका लागि गयौं तब नै संन्यास लिनुपर्ने समय आयो भन्ने लागेको थियो ।’

चोटका कारण ताजिकिस्तानसँगको दुवै खेलमा टिम बाहिर रहेकाले उनले ५० क्यापसँगै संन्यासका लागि थप ६ महिना प्रतीक्षा गरेको हुनसक्छ । ‘यो निर्णय लिन एकदमै गाह्रो भयो । धेरै सोचें । संन्यास लिने/नलिने मनमा धेरै कुरा खेलें । केही समयअघि नै लिने पनि सोचेको थिएँ तर फेरि खेल्नसक्छु, अझै टिममा पर्न सक्छु भन्ने लागेको थियो,’ पोखराका ३१ वर्षीय उनले भने, ‘यो उमेर अझै पनि खेल्ने समय हो । अझै १–२ वर्ष खेल्न सक्छु । सबै कुरा मिहिनेत नै हो । तर पछिल्लो समय फुटबलको गतिविधि देखेर यस्तो निर्णय लिइएको हो ।’

राजधानीमा चार वर्षअघि भएको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा उनले बंगलादेश र भारतविरुद्ध गोल गरेका थिए । त्यसयता उनले गोल गरेका छैनन् र क्रमश: टिममा पनि उनको स्थान अनिश्चित भइरहेको छ । उनी भन्छन्, ‘नेपाली खेलाडी सधंै फर्ममा नहुने रहेछ किनभने यहाँ निरन्तर लिग नै भइरहेको छैन । विभागीय टिमको जस्तो अरु क्लबमा ट्रेनिङ हुन्न । मैले पनि आफै ट्रेनिङ गरेर नियमित खेल्न सकेको हो । तैपनि राष्ट्रिय टिममा मौका पाउन गाह्रो भयो । सिनियर खेलाडीको लागि सधैं यस्तो राम्रो हुन्नजस्तो लाग्छ, त्यसैले पनि संन्यासको योजना बनाएको हुँ ।’

पाँच वर्षयता उनी नियमित मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् । तर लिग नहुँदा तीन वर्षयता तलबविहीन भएको उनले सुनाए । ‘मेरो खेल खस्किनुको मुख्य कारण लिग नहुनु होजस्तो लाग्छ । मेरो मात्र होइन, अरु धेरै खेलाडीको प्रदर्शन खस्किएको छ । क्लबबाट र लिग नखेली राष्ट्रिय टिमबाट खेल्नुपर्दा यस्तो भएजस्तो लाग्छ । क्लबले दिने तलब नै खेलाडीको मुख्य आम्दानी हो । त्यसैले लिग राम्रो भयो भने नै खेलाडीको आर्थिक अवस्था पनि राम्रो हुनसक्छ र यसैले नेपाली फुबटल बलियो बनाउँछ । लिग नभएकाले नै खेलाडीको स्तर खस्किने र विदेसिने समस्या आएको हो ।’

राष्ट्रिय टिमबाट संन्यास लिए पनि अझै २–३ वर्ष क्लब फुटबल खेल्ने उनको योजना छ । ‘तर त्यसका लागि पनि लिग हुनुपर्छ । लिग भएन भने सोच्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘मेरो आफ्नै बिजनेस पनि छ । यतिका वर्ष फुटबलमै लागें । जानेको पनि फुटबलमै हो । त्यसैले फुटबलबाट भने टाढिने छैन । कुनै न कुनै रूपमा फुटबलमा रहिरहने छु ।’