पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन


काठमाण्डौ – पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित  ९० वर्षीय बिष्टको शनिबार बिहान साढे दस बजे ज्ञानेश्वरस्थित घरमै निधन भएको परिवारिक स्रोतले पुष्टि गरेको छ।

राजा महेन्द्र र वीरेन्द्रका विश्वास पात्र बिष्ट पञ्चायती व्यवस्था हटेसँगै राजनीतिबाट टाढा टाढिएका थिए। ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि (२०६१) मा डा. तुलसी गिरीसँगै बिष्ट शाही मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए।

नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्ट हटाउन बिष्टले ठूलो भूमिका खेलेका थिए। २०२७ सालसम्म भारतले नेपालका पूर्व अोलाङचोङगोलादेखि पश्चिममा टिंकरसम्म सुरक्षा चेकपोष्ट राखेको थियो। बिष्ट प्रधानमन्त्री भएपछि कुटनीतिक तवरबाट त्यस्ता भारतीय चेकपोष्ट हटाएका थिए।

स्वर्गीय बिष्टको अाजै अन्त्येष्टी गरिएको छ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । २ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।