व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण पोखरामा सम्पन्न


पोखरा – राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीको आयोजनामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले राष्ट्रिय फोटो पत्रकार समूहले यसखालको तालिम गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले तालिममा सिकेको सीप र दक्षता आफूमा मात्र सीमित नराखी कार्यक्षेत्रमा देखाउँदै व्यावसायिक बन्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

प्रमुख प्रशिक्षक राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) का केन्द्रीय अध्यक्ष ध्रुव आलेले सिकेको कुरा व्यवहारमा लागू गर्न आग्रह गरे । उनले केन्द्रले विस्तारै देशभर शाखा विस्तार गर्दै लैजाने र आगामी दिनमा पनि जिल्लालाई आवश्यक सहयोग गर्दै जाने बताए । प्रशिक्षार्थीतर्फबाट तुलसीराम सुवेदी र तारा चापागाईंले तालिम अत्यन्तै फलदायी भएको बताए ।राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले फोटो पत्रकारको व्यावसायिक हकहितमा ध्यान दिँदै जाने बताए । उनले फोटोको महत्वबारे प्रकाश पार्दै पत्रपत्रिकासँग समन्वय गरी हरेक पत्रिकामा कम्तीमा एक जना फोटो पत्रकार नियुक्तिमा पहल गर्ने जनाए ।

समूह अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बराल र सञ्चालन सचिव दुर्गाप्रसाद पौडेलले गरेका थिए ।२ दिनसम्म चलेको प्रशिक्षणमा कास्कीसहित छिमेकी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत करिब ४५ जना पत्रकारको सहभागिता थियो । उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम प्रशिक्षकमा समूहका केन्द्रीय अध्यक्ष ध्रुव आलेसहित कान्तिपुरका पोखरा व्यूरो प्रमुख भीम घिमिरे र लामो समयदेखि फोटो पत्रकारिता गरेका समूहका पूर्व अध्यक्ष कृष्णमणि बराल थिए ।एनएफपिजे र पत्रकार महासंघ कास्कीको सहकार्य रहेको तालिममा पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक सहयोग गरेको समूहका सचिव दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।