भारतबिरुद्ध नेपालको १९ रनको ऐतिहासिक जित


काठमाडौं – टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित निकाल्दै नेपालले इतिहास रचेको छ  क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।

 

मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो ।

ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।

कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए ।

मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बन्यो ।

नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको कप्तानी पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । कप्तान दिपेन्द्र ऐरी खेलको म्यान अफ द म्याच चुनिए ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो । नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।