उपाध्यक्ष आचार्य लण्डनमा सम्मानित


लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यलाई लण्डनमा सम्मान गरिएको छ । आइतबार लण्डनमा आयोजित सम्मान कार्यक्रममा बेलायतस्थित संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले सहभागीहरुलाई स्वागत गरेका थिए । नेपालब्रिटेन डट कमको आयोजनामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठीले आचार्यलाई खादा लगाएर सम्मान गरे ।

बधाइ तथा शुभकामना कार्यक्रमा मन्तव्य दिंदै आचार्यले समृद्ध नेपाल बनाउने अभियानमा एनआरएनए लागीरहेको र यसकालागि संसारभरि फैलिएका सबै नेपालीहरुको साथ र सहयोग आवश्यक पर्ने बताए। उनले तीन करोड नेपालीले गैरआवासीय नेपालीहरुबाट ठूलो अपेक्षा गरेको बताउँदै त्यस्तो अपेक्षा पुरा गर्न आफुहरु लागिपर्ने पनि बताए। आफुलाई मत दिएर जीताउने सबै साथीहरु लगायत सम्मान कार्यक्रम आयोजना गर्ने आयोजकलाई पनि हार्दिक धन्यवाद दिए।

आचार्यले एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै यूरोप संयोजकको जिम्मेवारी समेत संहालेका थिए । आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्नेदेखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग पुर्याएका छन्। गाउँठाउँका मठमन्दिर, पाटीपौवा बनाउनेदेखि लिएर नेपाल पुगेका बेला आचार्यले थुप्रै कल्याणकारी काममा सहयोग गर्दै आएका छन्।