युरोप छिर्न नेपालीहरु जोखिम मोल्दै ; अफ्रिकीहरु सँगै सामुन्द्रिक डुङ्गामा


  • बसन्त रानाभाट,स्पेन

अफ्रिकी मूलका आप्रवासीहरुले जोखिम मोल्दै अवैध रुपमा युरोप छिर्ने गरेको सामुन्द्रिक बाटोलाई नेपाली मानवतस्करहरुले पनि प्रयोग गर्न थालेको खुलासा भएको छ। लिबिया देखि समुन्द्री बाटो हुँदै डुङ्गामा जोखिम मोलेर १२ जना नेपालीहरु दुई साता अघि इटाली पुगे पछि त्यस्तो खुलासा भएको हो।

सय २० जनालाई ट्युवको डुङ्गामा राख्दा ओभरलोड भए पछि डुङ्गा भित्र पानी पस्यो।  हामीले बाँच्ने आशा गुमाईसकेका थियौ, म्याग्दी स्थायी घर बताउने एक नेपाली युवाले घटना बारे भने।  “ठूलो सामुन्द्रिक जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका थियौ,तर अफ्रिकी आप्रवासीहरुसँगै जोखिम पूर्ण यात्रा गर्यौ। गुहार मागे पछि अन्य केहि रेस्क्यु डुङ्गाहरुको सहायताले बाँच्न सफल भएका हौ।

सोहि डुङ्गामा अचेत अवस्थामा भेटिएका अन्दाजी ३६ बर्षिय एक नेपाली युवाको मृत्यु भएको बताईन्छ। इटालीलाई समेत हेर्दै आएको स्विट्जरल्याण्डस्थित नेपाली राजदूताबासका राजदूत दीपक धितालले एक नेपालीको मृत्यु बारे खबर प्राप्त भए पनि पुष्टि भईनसकेको बताए। राजदूत धितालले भने, ईटालीस्थित नेपाली कन्सुलरबाट खबर आए पनि घटनाका बारे थप जानकारीका लागि हामीले प्रयास गरिरहेका छौं।

१२ नेपाली मध्ये जना अझै इटाली स्थित शरणार्थी शिविरमा रहेका छन्। यात्राको क्रममा खुट्टामा चोटग्रस्त एक युवाले भने,” एक हप्ता घिर्सेर भए पनि बाथरुम ट्वाईलट पुग्यौं, अहिले सामान्य भई सकेको , हामी दुईनेपाली सहित २३ जना शिविरमा छौं, अन्य नेपालीहरु कता छन् थाहा भएन।

दुबई, लिबिया हुँदै इटाली प्रवेश गरेका ती नेपालीहरुले युरोप छिर्नकै लागि जनही १३ लाख रुपैयाँ  नेपालमा नै बुझाएका थिए।इटाली पुगेर महिनामा नै १५१७ सय युरो सम्म कमाईन्छ, कार्ड बन्छ भन्ने प्रलोभनमा पारेर नेपालीले नै झुक्काए, कमाउन परको कुरा, मुश्किलले बाँचियो  पिडितले भने।

नेपाली कन्सुलर पालुयो नुगारीलाई सम्पर्क गरेर प्रहरीले घटना बारे जानकारी गराईसकेको एनआरएनए ईटालीका अध्यक्ष दिपेश रेग्मीले बताए। अध्यक्ष रेग्मीले भने,” आधिकारिक रुपमा जानकारी प्राप्त हुन ढिला भयो,शव ब्यबस्थापनका लागि छलफल भईरहेको छ।” रेग्मीका अनुसार मृतक नेपालीको शव ईटाली स्थित रेजोकालाब्रिया राखिएको छ।

हवाइ र स्थल मार्ग हुँदै यस अघि युरोप प्रवेश गर्ने गरेको भेटिए पनि जलमार्गको जोखिम पनि नेपालीहरुले उठाउन थालेको पछिल्लो घटनाले देखाएको छ। द्वन्द्वग्रस्त मुलुकबाट सामुन्द्रिक बाटो हुँदै डुङ्गामा यात्रा गर्दा वर्षेनी कैयौले ज्यान गुमाईरहेको बेला नेपाली मानवतस्करहरुको संजाल अब जलमार्गसम्म पनि जोडिएको पाइएको छ।