नेपालसँग आयोजक मलेसिया ८ विकेटले पराजित


पोखरा – एसीसी यु–१९ एसिया कप क्रिकेटमा मंगलबार भएको खेलमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको छ। ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर विजयी भएको हो।

नेपालका लागि ओपनर अनिल कुमार साहले नटआउट २६ रनको योगदान दिए। १५ बल खेलेका उनले तीन छक्का र एक चौकासहित १६ रन बनाएका हुन्। कप्तान दिपेन्द्र सिंह ऐरीले २ छक्कासहित १२ रन बनाए। ३ बल खेलेका ऐरी मोहम्मद हाफिजको हातबाट समातिए।

यसअघि ओपनर मोहम्मद आसिफ शेखले १४ बल खेलेर ४ रन बनाए। वर्षाले प्रभावित भएर २४ ओभरमा छोट्याइएको खेलमा सन्दिप लामिछाने ५ विकेट लिएपछि मलेसिया १५।३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा समेटिएको थियो।

नेपालका लागि सन्दिप लामिछानेले ४।३ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र साहब आलमले २(२ र अनिलकुमार साहले १ विकेट लिए। टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली मलेसियाका लागि सैफ उल्लाह मल्लिकले १३ आजिद सायद मुबारकले १२ रना बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

समूह ‘ए’ कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। उक्त खेलमा भारतले बंगलादेशलाई १८७ रनको लक्ष्य दिएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपालको पनि यो खेलसँगै ४ अंक भएको छ। भारतको २ अंक बटुलेको छ।

बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल सेमिफाइनलमा पुग्नका लागि आज बंगलादेशले भारतलाई हराउनै पर्ने हुन्छ। भारत विजयी भएमा भने राम्रो रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्छ।