पोखरामा विश्व मधुमेह दिवस मनाइयो


पोखरा – मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै पोखरामा विश्व मधुमेह दिवस मनाइएको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ को आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) को सहआयोजनामा मंगलबार प्रभातफेरी र सचेतना कार्यक्रम भएको हो । कार्यक्रमका लागि नेपाल मधुमेही समाज कास्की, मधुमेह तथा थायराइड उपचार केन्द्र र पोखरा डायबिटिज एन्ड थायराइड क्लिनिकले सहयोग गरेका थिए ।

कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले मधुमेह विश्वमै चुनौतीको रुपमा बढ्दै गएको बताए । उनले अल्पविकसित मुलुकहरुमा यसका बिरामी निकै तीव्र गतिमा थपिइरहेको उल्लेख गरे । उनले भने, ‘स्वस्थ्य जीवनशैली, उचित खानपान र समय समयमा स्वास्थ्य जाँच गरी मधुमेह लाग्ने सम्भावना कम गर्न सकिन्छ । लागिसकेको भए पनि नियन्त्रणमा राख्न सकिन्छ ।’

मधुमेह नियन्त्रणका लागि महिलाको भूमिका महत्वपूर्ण हुने उनले बताए । मधुमेह हुन नदिन र भइसकेपछि पनि खानपानमा ध्यान दिन जरुरी भएकाले यसलाई मध्येनजर गरी विश्व स्वास्थ्य संगठनले यस वर्ष महिलालाई सबल बनाएर मधुमेह नियन्त्रणको योजना अघि सारेको उनले बताए । लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ का गर्भनर धनराज आचार्यले लायनवादको मान्यताअनुरुप सामाजिक उत्तरदायित्व वहन गर्ने यस खालका कार्यक्रममा आफूहरु लागेको बताए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले व्यवसायका अतिरिक्त सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले हालसम्म ४० निशुल्क शिविर आयोजना गरी २३ हजार जनाको निशुल्क मधुमेह जाँच गरेको बताए । उनले आगामी शनिबार पनि पोखरा १२ मा पोखरा लेखनाथ वडा १२ को कार्यालय, रोट¥याक्ट मिडटाउन र रोटरी मिडटाउनको आयोजनामा निशुल्क मधुमेह, कलेजो र मटुसम्बन्धी रक्त परीक्षण हुने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गरे ।

पोखराको चिप्लेढुंगाबाट सुरु मधुमेह सचेतना ¥याली न्युरोड हुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । नेपाल मधुमेही समाज कास्की अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन टेकनारायण पौडेलले गरेका थिए ।