डेनमार्कको स्थानीय चुनावमा नेपाली:-यसकारण न्यौपानेलाई जिताउनु पर्छ,


प्रकाश ढकाल
कोपनहेगन ।

यतीबेला डेनमार्क स्थानीय चुनावको रौनकमा छ । प्रत्येक चार वर्षमा हुने चुनाव यहि नोभेम्बर २१ मा सम्पन्न हुँदै छ। यो पटकको चुनावमा नेपाली उम्मेदवार पनि रहेकोले डेनमार्कको नेपाली समुदायमा एक किसिमको रौनक नै रहेको छ । कुनै पनि नेपाली यहाँको निर्वाचनमा उम्मेदवार बनेको यो पहिलो पटक हो ।

उनी डेनमार्कको ठुलो पार्टी सोसल डेमोक्र्याट पार्टीको तर्फबाट कोपनहेगन महानगरपालिकाको एक क्षत्रबाट उम्मेदवार रहेका छन् । पार्टीले उनलाई विश्वास गरेर नै टिकट दिएको विश्वास गर्न सकिन्छ । सबै युरोपेली देशहरुले अहिले आप्रवासीहरुप्रती अनुदार नीति लागु गरिरहेको अवस्थामा डेनमार्क पनि यसबाट अछुतो रहन सकेन र यो अवस्थामा पनि नेपाली मुलको एक आप्रवासीलाई पार्टीले विश्वास गरेर टिकट दिनु पनि नेपाली समुदाय प्रती विश्वास गरेको ठहरिन्छ ।

यहि नोभेम्बर २१ मा सम्पन्न हुने निर्वाचन भए पनि मतदाताको व्यस्तताको ख्याल गरेर ‘प्री-इलेक्सन’ को व्यवस्था अनुरुप विभिन्न स्थानीय पुस्ताकालय र नगरपालीकाको स्थानीय कार्यालयमा भोट दिन पाउने व्यवस्था यहाँको सरकारले गरेको छ । भोट हाल्न डेनमार्कको व्यक्तीगत नम्बर भएको ‘पहेंलो कार्ड’ भए पुग्छ । डेनमार्कमा कानुनी रुपमा ‘भ्यालीड भिषा’ मा रहेर तीन वर्ष बसोबास गरेका जो कोहिले पनि भोट दिन पाउने व्यवस्था छ । यही नोभेम्बर १७ सम्म सबैले स्थानीय पुस्तकालयमा गएर मतदान गर्न सकिन्छ र मतदान प्रक्रिया पनि निकै सजिलो रहेको छ ।

कोपनहेगन कम्युन( नगर ) अन्तर्गत बसोबार गर्ने सबैले नेपाली उम्मेदवार न्यौपानेलाई भोट गर्न सक्नेछन् । नेपालीहरुले मात्र भोट गरे भने पनि उनको जीत सुनिस्चीत रहेको देखिन्छ । उनलाई जिताउन नेपालीहरु सम्मिलित विभिन्न समितिहरु बनेका छन् र त्यहि टिमले आ-आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको देखिन्छ । कोपनहेगनमा बस्ने नेपालीहरुले भोट गर्न सकेको खण्डमा चुनाव जित्ने दावी न्यौपानेको रहेको छ । त्यसकारण फेसबुक, फोन अनि साथीहरुको नेटवर्क मार्फत सबैलाई भोट हाल्न आव्हान गरिएको छ ।

वास्तवमा नेपाली हरी न्यौपाने टिकट पाउनु पनि नेपाली समुदायको गर्व गर्ने कुरा हो । डेनमार्कको ठुलो पार्टीले आफ्नो नीतिको प्रतिकुल अवस्थामा पनि विश्वास गरेर चुनावमा उठाउनु नेपाली समुदायको लागि गौरव गर्ने कुरा हो । अब यो गौरवलाई बचाउने र अगाडी बढाउने जिम्मा पनि नेपाली समुदायको हो । न्यौपानेलाई कोपनहेगनमा रहेका इथोपिया,बंगलादेश, सोमालीयाका समुदायको पनि साथ् रहेको छ । यसरी अरु देशका समुदायले पनि न्यौपानेलाई जिताउन लागेका छन् भने नेपाली समुदायले पनि यो पटक आफ्नो एकता देखाउनु जरुरी देखिएको छ । ‘प्री-इलेक्सन’ मा नै करीब पांच सय मत प्रात गरिसकेका उनलाई अझै जित सुनिचितताको लागि तीन सय भोट आवश्यक पर्ने देखिन्छ ।

त्यसकारण यो चार वर्षमा आउने चुनावमा एक नेपाली उम्मेदवारलाई जिताउने कर्तब्य पनि हामी नेपालीहरुकै हो । ‘प्री- इलेक्सन’ अन्तर्गत यहि नोभेम्बर १७ शुक्रबार सम्म भोट हाल्न पाउने व्यवस्था भएकोले अझै सम्म भोट नहालेका नेपालीहरुले भोट हाल्न उम्मेदवार न्यौपानेले अनुरोध गरेका छन् । उनले जितीको खण्डमा नेपाली समुदायको एउटा नेता भएर यहांको सरकार समक्ष हाम्रा समस्या र गुनासा लिएर जाने अपेक्षा पनि सबैको हो ।

विदेशी भूमिमा बसिसकेपछि समाजमा एउटा नेता त् चाहिन्छ नै । अर्को मुख्य कुरा उनले जितेको खण्डमा यहाँको सरकारले पनि नेपालीहरुको एकता देख्नेछ र सरकार मात्र हैन यहाँका सबै राजनीतिक पार्टीको राम्रो नजरमा नेपाली समुदाय पर्नेछ । त्यसैले हाम्रो एकता देखाउने मौका हामी कसैले पनि नागुमाउँ । मौका पटक पटक आउँदैन, आएको यो पटकको मौका कसैले पनि नगुमाउँ । एकतामा नै बल हुन्छ ।

हामी समय घर्केपछि बल्ल पछुताउने गर्छौं यो पटक त्यो नगरौं । हो हाम्रो समय मिलाउन अलि गारो हुन्छ, सबै व्यस्त छौं, काम, परिवार, बच्चा, चिसो मौषम आदिले समय मिलाउन गारो होला तर तहिपनि यो पटक समय मिलाएर भए पनि हाम्रो नेपाली एकता कायम राख्दै डेनमार्क, यहाँको सरकार र पार्टीहरुलाई लाई एकता देखाउने अवसरबाट कोहि पनि नचुकौं ।

यही नोभेम्बर १७ सम्म सबैले स्थानीय पुस्तकालयमा गएर मतदान गरौँ । तपाईंहरुले हाम्रो उम्मेदवार न्यौपानेलाई भोट हाल्दै गर्दा नेपाली एकता पनि प्रदर्शन गर्दै हुनुहुन्छ भन्ने नबिर्सौं । नेपाली समुदायको एकता डेनमार्कमा देखाउन जरुरी छ त्यसकारण पनि हरी न्यौपानेले चुनाव जित्नु जरुरी छ ।