पोखरा थियटरमा अभिनय कार्यशाला सुरु


राजाराम पौडेल,पोखरा – पोखरा थिएटरमा नाट्य क्षेत्रमा अगाडी बढ्न खोज्नेको लागि कार्यशाला सुरु भएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको कार्यशाला ३ महिनासम्म चल्नेछ । कार्यशालामा मण्डला थियटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले मुख्य सहजकर्ताको रुपमा देखिनेछन् । साथमा पोखराका स्थापित अन्य रङ्गकर्मीहरुलाई समेत सहजकर्ताको रुपमा उनीहरुले पाउनेछन् ।


कार्यशालाको संस्कृतिकर्मी एवं कवी तिर्थ श्रेष्ठले उद्घाटन गरे । पोखरा थिएटरको निर्माणले पोखराको नाट्य क्षेत्र पुनः तरङ्गीत बनेको उनले बताए । पोखरेली नाट्य क्षेत्रको इतिहास खोतल्दै उनले लगनशिल भएर लागेको खण्डमा भविष्य उज्वल रहेको बताए । साहित्यकार प्रकट पगेनी शिवले नाट्य क्षेत्रमा कार्य गर्न सक्ने प्रतिभाको माग पोखरामा रहेको बताए । सिक्ने क्रम निरन्तर जारी रहने भन्दै प्रशिक्षार्थीलाई साधना गर्न छोड्न नहुने सुझाए ।

नवनिर्मित पोखरा थियटरमै सञ्चालन गरिएकोे कार्यशाला आधुनिक शैलीमा अभिनयका विभिन्न आयामहरुको बारेमा प्रशिक्षण दिइने थिएटर अध्यक्ष परिवर्तनले बताए ।
कार्यशालाबाट प्रशिक्षित कलाकारहरु र अन्य स्थापित कलाकारहरुको संयुक्त संलग्नतामा थियटरले पहिलो नाटक मञ्चन गर्ने लक्ष्य लिएको सञ्चालक दिलु गुरुङले बताए ।

कार्यक्रम नाट्यकर्मी हेमन्त हितेषीको अध्यक्षतामा भएको थियो । कार्यशालामा २० जना नाट्य क्षेत्रमा अगाडी बढ्न चाहने युवायुवती सहभागी छन् । नाट्य क्षेत्रमा अगाडी बढ्ने लक्ष्यमा पोखरा थिएटर कोशेढुङ्गा बन्नेमा उनीहरु आशावादी छन् । म्युजिक भिडियो, टेलिफिल्ममा अभिनय गरिसकेकाको अलावा नाट्य क्षेत्रमा प्रतिभा भएर बाहिर आउन नसकेका फ्रेस प्रतिभा प्रशिक्षार्थीको रुपमा भर्ना भएकोले कार्यशाला पश्चात पोखरेली रंगमञ्चमा सम्भावना बोकेका नयाँ प्रतिभाको आगमन हुने आयोजकको दावी छ ।