माओवादी केन्द्रका कास्कीका उम्मेद्वारहरुको आइतबारको चुनाव प्रचारप्रसार स्थगित


पोखरा – वाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका कास्कीका उम्मेद्वारहरुले आइतबार चुनाव प्रचारप्रसार स्थगित गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधन भएको शोकमा उनीहरुले आइतबार निर्धारित चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका हुन् । वाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेद्वार कास्की १ को प्रदेश क्षेत्र नम्बर १ का दीपक कोइराला ‘रुपक’, कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का राजकाजी गुरुङ ‘करण’ र कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ का रामजी बराल ‘जीवन’ले आइतबार घरदैलोसहित सबै कार्यक्रम स्थगित गरेका हुन् ।

प्रचारप्रसार स्थगित गरेका कोइराला र करण स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न काठमाडौं गएका छन् । उनीहरुले लाजिम्पाट पुगेर प्रकाशलाई श्रद्धाञ्जली अर्पण गरे भने पशुपति आर्यघाटमा गरिएको अन्त्येष्टिमा पनि सहभागी भए । कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ का रामजी बराल भने ग्रामीण क्षेत्रमा भएकोले श्रद्धाञ्जलीका लागि काठमाडौं नगई आफू भएकै क्षेत्रमा श्रद्धाञ्जली कार्यक्रम राखेको माओवादी केन्द्र कास्कीले जनाएको छ । यस अघि बिहान ९ बजे पूर्व भने तीनै जना उम्मेद्वारले केहीबेर घरदैलो गरेका थिए ।

यसैबीच, कास्की २ को प्रदेश क्षेत्र नम्बर २ को आइतबार भएको उत्पीडित समुदायको भेलाले मनबुजा विकको संयोजक तथा नारायण रसाइली सहसंयोजक रहेको ३ सय ५ सदस्यीय उत्पीडित समुदाय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले वाम गठबन्धनलाई जिताउने निर्णय गरेको उत्पीडित समुदायका अगुवा भीम विकले जानकारी दिए ।