लिबिया देखि ईटालीसम्म :-सामुन्द्रिक डुङ्गा चढेर आउँदा धनमानले ज्यान गुमाए


बसन्त रानाभाट स्पेन/ म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ बर्षिय धनमान पुर्जाको युरोप पुगेर धन कमाउने ठुलो सपना थियो। लिबिया देखि सामुन्द्रिक बाटो हुँदै ईटाली छिर्न मानवतस्करले डोर्याएको बाटोले उनको सबै सपना चकनाचुर पारिदियो। उनले त संसार छोडेर गए तर परिबारमा श्रीमती सहित ४ छोराछोरीले अन्तिम पटक अनुहार समेत देख्न पाएनन्।

उनि सँगै जोखिमपूर्ण यात्रा गर्दै ईटाली छिरेका केहि युवाहरुले घटना बारे परिबारलाई जानकारी गराए। एउटा फोटोको भरमा परिबारलाई यकिन गर्न मुश्किल पर्यो।अबैध रुपमा आएकाले नेपाल शव पुर्याउँन पनि झन्झट।  त्यस माथि शव लैजादा लाखौको खर्च अन्तत परिबार र आँफन्तहरुले पुर्जाको शवलाई ईटालीमा नै दाहसंस्कार गर्न स्विकृत दिएका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका महासचिव छबीलाल कंडेल भन्छन्,”शव सनाखतका लागि नै झन्डै तिन साता लाग्यो,नेपाली कन्सुलेट रोम,एनआरएनए इटाली र नेपाली राजदूताबास स्विजरल्याण्डको सक्रियतामा सनाखत गर्ने काम सकेका छौ,अब पारिबारिक निर्णय अनुसार शुक्रबार यतै अन्त्यष्टि गरिदै छ।”

कंडेल भन्छन्,”पुर्जाको परिबारमा पनि दुख छ,१० बर्षिय जेठा छोरा अपाङ्ग छन्,अन्य दुई छोराहरु ६ बर्ष र ४ बर्षका मात्ररहेछन्, अझ कान्छी छोरी त १ बर्षकी मात्र । घटना भईहाल्यो अब परिबार र उनका छोराछोरीहरुका लागि आर्थिक सहयोग संकलन गर्ने पहल गर्दैछौ।”

पुर्जाले यसरी ज्यान गुमाए:-

सँगै यात्रा गरेका एक नेपाली युवाले घटना बारे भने,“ ओभरलोड भए पछि ट्युवको डुङ्गामा पानी छिर्न थाल्यो,बाँच्ने आशा हामीले गुमाईसकेका थियौ। पुर्जा दाई डुङ्गामा नै अचेत हुनुहुन्थ्यो, उद्दारकर्मीहरुले सबैभन्दा पहिला अस्पताल पनि उहाँलाई नै लगेको हो,तर पछि हामीलाई फोटो देखाउदै यो मान्छे अब रहेन भन्दै खबर गरियो ।”

जोखिमपूर्ण यात्रा पार गर्दै हाल ईटाली स्थित शरणार्थी शिविरमा रहेका ति युवा भन्छन्,“नेपाल छदा ठूलो सामुन्द्रिक जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका थियौ,तर अफ्रिकी आप्रवासीहरुसँगै जोखिम पूर्ण यात्रा गर्यौ। गुहार मागे पछि अन्य केहि रेस्क्यु डुङ्गाहरुको सहायताले बाँच्न सफल भएका हौ।”  

१२ जना नेपालीहरुलाई दुबई,टर्की, लिबिया हुँदै ईटाली छिराउन मानवतस्करहरुले अफ्रिकी मुलका आप्रबासीहरु सँगै सामुन्द्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए।

राम्रो कमाई हुने प्रलोभन,लाखौ खर्च  

“इटाली पुगेर महिनामा नै १५- १७ सय युरो सम्म कमाईन्छ, कार्ड बन्छ भन्ने प्रलोभनमा परेको पिडितहरु बताउँछन्।

अवैध रुपमा युरोप छिर्ने गरेको सामुन्द्रिक बाटोलाई नेपाली मानवतस्करहरुले पनि प्रयोग गर्न थालेका छन्। लिबिया देखि समुन्द्री बाटो हुँदै डुङ्गामा जोखिम मोलेर ईटाली प्रबेश गरेका नेपालीहरु बिस्तारै सम्पर्कमा आउँन थालेका छन्। 

हवाइ र स्थल मार्ग हुँदै यस अघि युरोप प्रवेश गर्ने गरेको भेटिए पनि जलमार्गको जोखिम पनि नेपालीहरुले उठाउन थालेको पछिल्ला घटनाहरुले देखाएको छ।

ईटालीमा के छ भविष्य ?

मानवतस्करहरुले देखाउने प्रलोभन भन्दा ईटालीको बास्तबिकता भने भिन्न रहेको छ। झन्डै १६ बर्ष देखि ईटालीमा बस्दै आएका हरिभक्त काराखेतीले अहिले ईटालीमा आएर बैधानिक बन्न जटिल रहेको बताउँछन्।

दोभासेको रुपमा पनि काम गर्दै आएका काराखेती भन्छन्,” पहिले-पहिले सानातोरिया,फुल्सिजस्ता प्रक्रियाबाट धेरै जना बैधानिक बन्ने गर्थे। तर अहिले अन्तिम उपाय भनेकै रिफ्युजी नै हो। भूकम्पका कारण घरबार बिहिन भएको भन्दै केहि नेपालीहरुले स्टोरी गरेको पनि पाइन्छ तर यो पनि नेपालीका लागि जटिल बन्दै गएको छ।”

पछिल्लो क्रममा लिबियावाट सामुन्द्रिक बाटो हुँदै आउँनेहरुलाई सिधै समातेर क्याम्पमा पुर्याउँने हुँदा उचित सल्लाह दिन नसकेको उनि बताउँछन्। “ सिधै समातेर क्याम्पमा लैजान्छ, ट्रान्सलेटर राम्रो नहुँदा पनि, भनाईलाई राम्रोसँग प्रस्तुत गर्न सकिदैन। त्यसैले पनि बैधानिक बन्ने सम्भावना झनै न्यून बन्ने गरेको पाईन्छ।”

बैधानिक रुपमा काम गर्दै आएकाहरुको समेत औसत कमाई मासिक ८-९ सय युरो भनेको काराखेती बताउँछन्। उनले आग्रह गर्दै भने,“ईटालियन युवाहरु नै बेरोजगार बनेर दोस्रो मुलुक खोजि गरिरहेको तथ्याङ्ले बताउँछ तर हामी नेपालीहरुले १५-१७ युरो कमाईन्छ भन्दै लाखौको खर्चमा ज्यानको बाजी लगाएर आउँछौ अब साँच्चिकै सोच्ने बेला आएको छ।”

१ बर्ष बित्यो,महिनामा कमाई ७५ युरो भत्ता

दुबई,सुडान,लिबिया हुँदै काठको डुङ्गा चढेर झन्डै १ बर्ष ईटाली आएका ३० बर्षिय युवाको ब्यथा पनि कारुणिक नै छ।  आफ्नो पहिचान गोप्य राख्ने शर्तमा उनि भन्छन्,” लिबियाबाट युएनको सिपले ईटाली पुर्याउँछ,महिनामा लाखौ कमाईन्छ भन्ने प्रलोभनमा परियो तर कमाउने कुरा छाड्नुहोस् ऋण माथि ऋण थुपरिएको छ।”

हालसम्म शरणार्थी शिविरमा नै रहेका उनले कमाईको नाममा महिनामा पाउने ७५ युरो भत्ता रहेको बताउँछन्। भाबुक हुँदै भने,”पहिले त ७ लाखमा नै पुर्याईदिन्छुभन्यो,तर लिबियामा बन्धक बनाउदै बिचौलियाले परिबारबाट थप पैसा लिए ,१० लाख तिरेर धन्न बाँचेर आईयो,यता न कार्ड बन्छ न काम नै पाईन्छ।”

नापोलीको शिबिरमा रहेका ति युवाले आँफूले दुख पाए पनि, युरोपको नाममा जोखिम नमोल्न अनुरोध गरेका छन्।