पोखरामा शनिबार ओली र प्रचण्ड आउने


पोखरा – पोखरामा शनिबार बाम गठबन्धनको चुनावी सभा हुँदैछ । प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, बाम गठबन्धनका नीतिगत एजेण्डा, बिकासका एजेण्डाका साथै विकासका एजेण्डासमेत औपचारिक रुपमा जनतासमक्ष सिधै पु¥याउन आज पोखराको अमरसिंहचौरमा पूर्वाह्न ११ बजे बृहद चुनावी सभा गर्न लागेको हो । चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको बाम गठबन्धन निर्वाचन जिल्ला संयोजन समितिले जनाएको छ । आजको चुनावी सभालाई बाम गठबन्धनको शक्ति प्रदर्शनको रुपमा पनि हेरिएको छ ।

बृहद चुनावी सभालाई बाम गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले र माओवादी केन्द्रका अध्यक्ष द्वय ओली र प्रचण्ड सोहि दिन विहान हेलिकोप्टरमार्फत पोखरा आउनेछन् । छुट्टाछुट्टै हेलिकोप्टरमार्फत आउने दुबै अध्यक्षलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरेर सिधै चुनावी सभा भएको ठाउँ अमरसिंहचौर लगिने बाम गठबन्धन संयुक्त प्रचार विभागका सचिव त्रिभूवन पौडेलले जानकारी दिए ।

चुनावी सभा पूर्वाह्न ठिक ११ बजे शुरु हुने नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर बैरागीले जानकारी दिए । चुनावी सभाअघी ¥याली ननिकालिने बाम गठबन्धन कास्कीले स्पष्ट पारेको छ । कास्की जिल्ला स्तरीय बृहद चुनावी सभामा अहिलेसम्मकै सबैभन्दा बढी जनता उतार्ने तयारी गरिएको बाम गठबन्धनले जनाएको छ । चुनावी सभामा आउँदा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु एउटै बसमा सूर्य र हसिया हथौंडा अंकित झण्डा फहराउँदै आउने उनले बताए ।