मतले हारे पनि सबैको मन जितेकी जमुना गुरुङ घले ।


प्रकाश ढकाल, कोपनहेगन

विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुले अझै पनि सोच्ने प्रश्न हो अन्तीम समयमा आएर गैर आवासीय नेपाली संघ ( एनआरएन) को केन्द्रिय अध्यक्षमा जमुना गुरुङ घलेले किन उम्मेदवारी दिइन् ? यो प्रश्न अझै पनि धेरै एनआरएन सम्बद्ध नेपालीहरुमाझ खेल्ने प्रश्न हो । एनआरएन को सम्मेलन भएर नयाँ नेतृत्वको चयन भएको एक महिना पनि भइसकेको छ यस परिप्रेक्ष्यमा यसको उत्तर खोज्न केहि खोतल्ने पर्ने हुन्छ । पक्कै पनि गुरुङले त्यस्सै उम्मेदवार दिएकी थिइनन्, यसको केहि विश्लेषण र भित्री कुरा खोतल्नु र केहि खुलाशा गर्नु यो लेखको आसय हो । किन उनले केहि महिना अगावै आफनो दावी उम्मेदवारी अध्यक्ष पदमा नै रहने कुरा घोषणा गर्न सकिनन् ? यी कुराहरु अझै पनि एनआरएन सम्बद्ध नेपालीहरु माझ खेलिरहने प्रश्न हो र अझै पनि बहसको विषय बनिरहेको ‘इस्यु’ हो । धेरैलाई लाग्न सक्छ की उनले आफनै लहड या शेष घलेको लिगेसी बचाउनका लागि आफनो उम्मेदवारी प्रश्तुत गरीन या अझ अर्को कोणबाट हेर्दा शेष घलेले गर्न खोजेका र अपुरै रहेका कार्यहरु गर्न या अझै राम्रो काम गर्न आफनो उम्मेदवारी दिएकी थिइन् । खैर, जे होस् एनआरएनको अधिवेशन सम्पन्न भै नयाँ नेतृत्व समेत आइसकेको छ । यस लेखमा उनको उम्मेदवारी सम्बन्धी कुराहरु र उनको उम्मेदवारी सम्बन्धी छरिएका भ्रमहरुलाई चिर्ने प्रयास गरिएको छ । लेख अलिक लामो छ, जमुनाको उम्मेदवारी किन भन्ने सवालमा सबै कुरा उल्लेख र बुझाउन आवश्यक देखिएकोले लेख लामो हुने कुरा पाठकले बुझ्नुहुन सादर अनुरोध छ ।

एनआरएन एउटा अभियान हो । अभियान यस्तो की एउटा सामाजीक संस्था भएर विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकवद्ध बनाउने अनि नेपालमा सामाजीक कार्य गर्ने, नेपालको विकासमा योगदान दिने । विश्वभर छरिएर नेपालीहरुको सीप र क्षमता नेपालमा ट्रान्सफर गर्ने इत्यादी । अहिले एनआरएन एउटा अभियानको रुपमा विकसीत भैरहेको छ र नेपालमा र विदेशमा पनि नेपाल र नेपालीको हितका निम्ती यो संस्थाले धेरै राम्रा कामहरु गरि सकेको पनि छ । संस्था ठुलो बन्ने क्रम जारी छ । जुन उद्धेश्य र उत्साहका साथ् एनआरएन गठन भएको थियो बीचमा यो संस्था केहि एजेन्डा विहिन जस्तै बनेको पक्कै हो, यसले स्थापनाका धेरै वर्ष दोहोरो नागरिकता जस्ता अनावश्यक र अनुत्पादक इस्युहरुमा समय खेर फालेको सत्य हो । एक पटक नेपाली नागरिकता त्याग गरिसकेपछि फेरी नागरिकता लिन खोज्नु जस्तो ‘युनिभर्सल्ली इलेगल’ काम वास्तवमै केहि हैन तही पनि यो इस्युमा धेरै बहस भयो तर एनआरएनको लागि अहिलेसम्म हाता लग्यो सुन्य नै रहेको छ । यसो भन्दै गर्दा हिजोका दिनमा उपेन्द्र महतो, राम प्रताप थापा, सुर्य सुवेदी, देवमान हिराचन, जीवा लामिछाने, दिल गुरुङ, जस्ता हस्तीहरु हुँदैनथे भने एनआरएन अभियान आजको अवस्थामा आउन सक्ने पनि थिएन । वहाँहरुको योगदानलाई यहाँ उपेक्षा गर्न खोजिएको पनि हैन ।

विविध इस्युहरुमा अल्झंदै गर्दा शेष घले एनआरएनको नेतृत्व समाल्न आइपुगेका थिए । जब उनी नेतृत्वमा आए तव उनी एक मिसन बोकेर आएको सबैलाई आभास दिलाएका थिए र उनको एउटा मिसन थियो एनआरएनलाई एक उचाइमा पुर्याउने । उनको दुइ कार्यकालले एनआरएनलाई थप उचाइ मात्र दिएन अब एनआरएनलाई ‘एक्सन ओरिन्टेड’ को अवस्थामा पुर्यायो। संस्था स्थापनाको दस वर्ष त्यस्सै खेर फालेको एनआरएनले वास्तवीक कामको शुरुवात शेष घलेको पहिलो कार्यकालमा शुरु भएको हो । घले अध्यक्ष हुने बित्तिकै संस्थाको आफनै भवन हुनुपर्छ भन्ने मान्यता अनुरुप काठमाडौँको वालुवाटारमा नयाँ र अत्याधुनीक एनआरएन भवन बनाउन शुरुवात उनले नै गरेका थिए । एनआरएन भवन विदेशमा रहेका समग्र नेपालीहरुको प्रतिष्ठाको विषय र ‘ड्रीम प्रोजेक्ट’ पनि भएकोले वर्षौं देखी त्यस्सै रोकिएर रहेको कार्यलाई शेष घलेले पहिलो प्राथमिकतामा राखेर भवन बनाउन कस्सिए । तर यस कार्यमा उनलाई त्यती सोचे जस्तो सबैको साथ् मिलिरहेको थिएन, तही पनि घले हरेस नखाईकन आँफै खटेर लागीपरेको कारण आज लाप्राक बस्ती र एनआरएन भवन पुरा हुने तयारीको अन्तीम चरणमा छन् । विश्वभर छरिएर रहेका नेपालीहरु लाप्राक पुगेर श्रमदान पनि गर्दै छन् तर आफुलाई एनआरएनका अभियान्ता भन्नेहरु केहि अझै लाप्राकमा टेकेका पनि छैनन् ।

जसरी घले आफनो उद्धेश्यका साथ् अगाडी बढ्दै थिए उनको दुइ कार्यकाल पनि सकिंदै थियो । वास्तवमा भन्ने हो एनआरएनको ‘ड्रीम प्रोजेक्ट’ पुरा गर्न भने उनलाई समय नै पुगेको थिएन । एनआरएनका गरेक कार्यमा जमुना गुरुङ्गले घलेलाई सघाई रहेकी थिइन् ।उनको दुइ कार्यकालको बिदाइ संगै उनी त्यो ‘ड्रीम प्रोजेक्ट’ पुरा गर्ने ‘स्ट्रक्चरल ग्यारेन्टी’ चाहन्थे । यी सबै कुराहरुमा गुरुङ्गले निकै चासो दिएर हेरिरहेकी थिइन् । यस्तैमा नेतृत्व दावी गरिरहेका भवन भट्टले सेप्टेम्बर महिनाको पहिलो साताको एक बिहान घले निवास काठमाडौँमा घले र गुरुङ्ग संग जुन कुरा गरे त्यो कुराले गुरुङ्गको उम्मेदवारी दिने बाटो तय गर्दै थियो । लाप्राक बस्ती र एनआरएन भवनको विषयमा त्यो दिन जुन कुरा भट्टले गरे त्यही कुराले गुरुङ आफनो उम्मेद्वारी दिने तयारी पनि थालेकी थिइन् । त्यो बिहानको महत्वपूर्ण भेटमा भट्टले लाप्राक र एनआरएन भवनको विषयमा नकारात्मक कुरा नगरेको भए गुरुङ्गको उम्मेदवारी आउने पनि थिएन । भट्टको कुराबाट शशंकीत भएका घले दम्पत्ती लाप्राक बस्ती र एनआरएन भवन पुरा हुने ग्यारेन्टी मात्र खोज्दै थिए अन्य अन्य कुरा केहि थिएन ।

एउटा बुझ्नु पर्ने कुरा के छ भने एनआरएनमा शेष घलेको दुइ कार्यकालमा ‘रसिया भर्सेस अस्ट्रेलिया’ कहिंकतै एक्जिस्ट रहेको थियो र अहिले पनि छ । यसका अभियान्ताहरुले सबैको एनआरएन भने पनि व्यवहार र काम गराई अनि एनआरको ‘प्र्याक्टीस’ हेर्ने हो भने यो प्रस्टै देखिन्छ । यहि कुराले पनि घलेको कार्यकालमा उनले गर्न खोजेका कामहरुमा वाधा र व्यवधान नआएका हैनन् । कतीसम्म भने एनआरएन भवन बनाउने सवालमा अदालतमा मुद्धा हाल्ने देखि लाप्राक वस्ती निर्माणको अनुमती लिन अनेक भाँजो हाल्ने र प्रक्रिया नै ढिलो गराउने काम गरिएको थियो तर पनि घलेले ती सबै ‘ओभरकम’ गरेको कसैसामु छिपेको छैन । त्यसैकारण आज लाप्राक वस्ती र एनआरएन भवन पुरा हुने अन्तीम चरणमा छन् । सायद यहि कुरा बुझ्न पनि काफी छ जमुना घलेको उम्मेदवारीको विषयमा ।

सम्मेलनको अन्तीम समयसम्म पनि जमुना गुरुङ्गको उम्मेदवारी आउने वा नआउने भन्ने कुरा अन्यौल नै रहेको थियो । घले केवल आगामी नेतृत्वले आफुले शुरुवात गरेका कामहरुको पुरा गरोस भन्ने ग्यारेन्टी चाहन्थे जुन नेतृत्वको दौडमा रहेका भट्टले अन्तीम समयसम्म पनि ग्यारेन्टी दिन सकेका थिएनन् । लाप्राक बस्ती र एनआरएन भवन पुरा हुन पनि सकस देखिएको अवस्थामा मात्र जमुना घलेको उम्मेदवारी आएको थियो । एनआरएनको सम्मेलन अक्टोबर १४ बाट शुरु हुँदै थियो तर उनको उम्मेदवारी सम्मेलनको दुइ दिन अगाडी मात्र आउने कुरा सार्वजनीक भएको थियो । जुन स्वभावीक ढिला थियो तर ढिलो हुनुमा पनि केहि कारण थिए भन्ने सबैले बुझ्नु आवश्यक छ । उनी अहिले नै नेतृत्वमा आउने चाहनामा पनि थिइनन् तर परिस्थितिले त्यस्तै बनाइ दिएको थियो । जित हार संग भन्दा पनि घलेले अगाडी सारेको एजेन्डाले नियमीतता पाउने वा नपाउने सवालमा उनको उम्मेदवारी थियो । अन्तीम समयमा पनि नेतृत्वको दावी गरेका अर्का उम्मेदवार भट्टले लाप्राक बस्ती र एनआरएन भवन जस्तो संवेदनशील विषयमा कुनै प्रतिबद्धता जनाउन नसकेका कारण जमुनाले उम्मेदवारी दिएकी थिइन् । यो सबैले बुझ्नु आवश्यक छ ।

उनले उम्मेदवारी दिएपछि उने अनि शेष घले लाइ अनेक लाञ्छना लगाइयो । उनलाई घलेकी श्रीमती, जनजाती, अनि महिला भन्दै अनेक आरोप लगाइयो । उनी नेतृत्वमा शेष घलेको श्रीमती भएर होइन उनकी व्यापारिक साझेदार भएर आउन लागेकी थिइन् । घले र गुरुङका प्रत्येक कम्पनीहरु व्यापारिक साझेदार छन् । सम्बन्धमा मात्रै उनीहरु श्रीमान श्रीमती हुन् । घलेसंगै काम गर्दा जमुनाले घलेको भावनालाई बुझेकी थिइन् । शेष घलेमा भएको त्यो काम गर्ने स्पीरिट जमुनालाइ मात्र थाह छ । फेरि एनआरएनमा महिला आउनै नहुने भन्ने पनि थिएन । उनी महिला भएको कारणले एनआरएनमा आउन हुन्न भनेर भन्नु पनि विपक्षीहरुको एक किसिमको फरक सोच होला । तर जमुना ले प्रत्येक मानिसका सोचका सम्मान गर्थिन र गरेकी पनि थिइन् । तर उनको उम्मेदवारी अक्टोबर महिनाको शुरुमै आएको भए सायद नतिजा अर्कै हुन पनि सक्थ्यो होला ।

जव उनले उम्मेदवारी दिइन् अनि उनलाई जनजाती भनियो । विदेशीएका नेपालीहरुमा यस्तो जनजाती, भेगीय, क्षत्रिय पनि हुँदैनन् भन्ने सम्म पनि ख्याल गरेको पाईएन । एउटा कुरा सबैलाई ख्याल होस् , एनआरएनमा जाती, जनजाती, क्षत्रिय केहि हुँदैन मात्र नेपाली हुन्छ । उनलाई अनेक लाञ्छना लगाईए पनि उनले विपक्षी उम्मेदवार भट्ट वा कसैलाई पीर पार्ने वा पिराउने काम भने गरिनन् । उनले भट्टको विरुद्धमा एक शब्द पनि बोलेको कहीं कतै पाईएन । तर यसको ठिक विपरीत भट्ट अनि उनका समर्थकहरु जमुनालाइ अनेक लाञ्छना अनि आरोप लगाउने कार्य गरिरहेको दृश्य सम्मेलन स्थल वरपर देख्न पाइन्थ्यो ।

वास्तवमा जुन एजेन्डा अनि उत्साहका साथ् जमुनाको उम्मेदवारी आएको थियो त्यो नै जमुनाको लागि महान हो । उनले जित्नको लागि भन्दा पनि उनको एजेन्डा एनआरएनमा कायम रहनु पर्छ भनेर उम्मेदवारी दिएकी थिइन् । यो नै उनको नैतीक विजय हो । हो मतका आधारमा उनको पराजय भइसकेको छ तर जित्ने पक्षले एकलौटी गर्ने अवस्था भने अहिले नरहेको सबैलाई स्पस्ट होस् । जमुनाको उम्मेदवारी नै कोहि छ है अर्को जहाँ संस्थापन भनिनेले एकलौटी गर्न पाउंदैन है भन्ने सवालमा भएको हो भन्ने पनि सबैले बुझ्नु आवश्यक छ । एउटा संस्थामा एक व्यक्तीको कुरा पनि सुनिनु पर्छ भने जमुनाले त ६ सय भन्दा बढी मत ल्याएकी छिन । यो मत त उनले प्रचार नगरी पाएको मत थियो भन्ने सबैलाई हेक्का रहोस । अर्थात नमागेको मत पनि जमुनाले पाएकी हुन् , यो सत्य सबैले स्वीकार गर्नुमै सबैको भलाइ छ ।

एउटा संस्थामा अनेक हत्कण्डा अपनाएर मतका आधारमा चुनाव जितेर नेतृत्वमा पुग्नु एउटा कुरा होला तर नेतृत्वमा पुग्दा अनेक हत्कण्डा अपनाइएको पनि सबैलाई हेक्का रहोस । त्यो अवस्था सम्म एउटा संस्था पद्धती र प्रक्रिया अनुसार चल्छ जहाँ कुनै एक व्यक्तीको हुकुमी आदेश चल्दैन र चल्नु पनि हुँदैन जतिबेला विपक्षी वा आफनो प्रतीद्व्न्दीले पनि प्रतिस्पर्धामक मत ल्याएको होस् । अहिलेको भट्ट नेतृत्वको एनआरएन पनि यहि अवस्थाको हो । सबैलाई ख्याल रहोस । कुरा नैतीक विजयको हो । एनआरएन जस्तो पवित्र संस्था नैतीक र अनैतीक जस्ता कुराहरुले बांधीनु पर्छ ताकी संस्थामा अनुशाशन कायम रहन सकोस । यस किसिमले जमुना पहिले नै नैतीक रुपमा विजयी बनीसकेकी हुन् । मतले हारे पनि मतदाताको मनले अनि मतदाताप्रती जमुनाले दर्शाउने नैतीकबल सहितको मनले उनको नैतीक विजय भएको छ । घले परिवार एनआरएन अभियानमा थियो, छ र रहिरहनेछ ।

तपाईको प्रतिक्रिया