युरोपभरका कलाकारहरुले बार्सिलोना तताए


बार्सिलोना/ मुलुकमा चुनाबी नतिजाले ध्यान तानिरहेको बेला स्पेनको बार्सिलोनामा रहेका नेपालीहरु भने गीत संगीतमा पनि झुमेका छन्। युरोपभरबाट आएका प्रतिभावान नेपाली कलाकारहरुको प्रस्तुतिसँगै नेपाली गीत संगीतमा झुमेका हुन्। झन्डै दुई दशक अघि नृत्य निर्देशकको रुपमा नेपाली कला क्षेत्रमा प्रबेश गरेका सन्त कुमार थापा मगर शनिबार बार्सिलोनामा आफ्नो जोडी सहित प्रस्तुत भए। मल्लिका प्रधानसँगको जोडी उनको बास्तबिक जीवनमा मात्र हैन कला क्षेत्रमा पनि जोडी कै रुपमा परिचित छ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) डेनमार्कका अध्यक्ष समेत रहेका मगरको जोडीले “हिलो लाग्ला नाइलेनको साडीमा”,“यो माया भन्ने चिज रैछ अचम्मै” लगायतका गीतहरुमा नृत्य प्रस्तुत गर्दा दर्शकहरुको “वान्स मोर” नै पाए। डेनमार्क निबासी गायक राजमान तामाङ् युरोपमा निकै चर्चित छन्। गायक तामाङ्ले आफ्नो डेब्यु एल्बम “उत्सव”बाट  ‘हल्का हल्का’ बोलको गीत सुनाए। ”रेशम फिरिरी”,”जिन्दगानी दर्पण छाया”लगायतका चर्चित गीत सुनाउँदा गायक तामाङ्ले दर्शकहरुले मन जिते।

कार्यक्रममा ईनास सिङगिङ्स्टाहरु सोबु केसी र शैलेस नेपालीको आवाजले पनि बार्सिलोना गुञ्जियो। डेनमार्क कै कलाकारहरु रोबिन दाहाल,कोपिला शाक्य र आँचल सापकोटाले पनि प्रस्तुति राखेका थिए।ईनास नेदरल्याण्डसकी अध्यक्ष समेत रहेकी सरिता हुमागई,पुजा सुब्वा,ईनास स्पेन ब्याण्ड,नेपाली पाठशाला लगायत स्थानीय कलाकारहरुले जोडदार प्रस्तुति दिए ।

आयोजक ईनास स्पेनका अध्यक्ष पुरुषोत्तम भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा इनास युरोप उपसंयोजक प्रकाश तिवारी सहभागी बनेका थिए। तस्बिर:- साईग्रेस