‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शनको तयारी अन्तिम चरणमा


पोखरा – पोखराको नेसनल आर्ट स्कुल पोखराले प्रदर्शन गर्न लागेको नाटक ‘बार्दलीको छेउबाट’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ मा पहिलोपटक खुलेको नाट्य कला अध्ययन गराउने नेसनल आर्ट स्कुलले यहि मंसिर २९ र पुष १ गते प्रदर्शन गर्न लागेको नाटक ‘बार्दलीको छेउबाट’ नाटकको तयारी अन्तिम चरणमा पुगेको हो । आउँदो शुक्रबार र शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा अपराह्न ३ बजे १÷१ शो नाटक प्रदर्शन गरिने आयोजक नेसनल आर्ट स्कुलका संस्थापक तथा नाटक निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

नाटकमा लेखन तथा निर्देशन कृष्ण उदासीको रहनेछ भने कलाकार ममता मञ्जुल सह–निर्देशकको रुपमा उदाउँदै छिन् । कलाकारसमेत रहेकी उनले निर्देशनमा डेब्यू गर्न लागेकी हुन् । नाटकका कलाकारहरुमा सह–निर्देशनसमेत गरेकी ममता मञ्जुल, निश्चल विमल, एलिसा विक, कृष्ण पौडेल, पार्वती थापा, विष्णु तिमिल्सिना, कुशल अधिकारी, लक्ष्मी न्यौपाने, सोनिया खत्री र प्रवेश श्रेष्ठ रहने निर्देशक उदासीले जानकारी दिए । लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजनमा नाटक प्रदर्शन हुने उनले बताए ।

‘बार्दलीको छेउबाट’ सामाजिक प्रयोगबादी नाटक भएको निर्देशक उदासीले बताए । सामाजिक यथार्थमा आधारित प्रयोगबादी यस नाटकमा सामाजिक, आर्थिक, राजनीतिक बिसंगति, विकृतिलाई उठाउँदै यसले समाजमा ल्याएको पारिवारिक बिखण्डन र बिचलनलाई सरल ढंगमा उजागर गर्ने प्रयास गरिने उनले बताए । नेपालमा करीब ३३ प्रतिशत मानिस डिप्रेसनमा रहेको दाबी गर्दै निर्देशक उदासीले नाटकमा डिप्रेसनको कारण खोतल्ने प्रयास गरिने बताए ।

नाटक प्रदर्शनका लागि करीब ३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । नाटक अवलोकनका लागि २ सय, ५ सय र एक हजार रुपैयाँ प्रवेश टिकट दर कायम गरिएको र टिकट नाटक प्रदर्शन हुने दिन गेटमै स्टल राखेर बेचिने उदासीले जानकारी दिए ।