अनुभव ः अन्तत मिर्सा गाउँको घरवास


साथीहरुका विचमा कुरा मात्रै हुने तर भेट हुन सकिरहेको थिएन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ मा रहेका छोरेपाटन माविमा संगै पढेर २०५१ सालमा एसएलसी दिएका साथीहरु विच लामो समय भेट नभएकोले धेरैलाई केहि खट्किरहेको थियो। साथीभाई भेटघाट गर्ने कार्यक्रम आयोजना भए पनि हुन्थ्यो भन्ने चाहना सबैमा थियो । जति पनि साथीहरुसंग कुरा राख्थे मलाई नै जिम्मा दिनुहुन्थ्यो । मैले सकेसम्म धेरै साथीहरु जुटाउने कोशिष गरेको पनि हो । पिकनिकको आयोजना गरौं भन्ने भएको थियो। तर साथीहरु आआफ्नो व्यापार, व्यवसायमा व्यस्त हुनुपर्ने भएकोले पिकनिकको साटो मैले नै पोखराको नजिकै घरवास वस्न जाने प्रस्ताव राखे ।

मलाई के लाग्यो भने, जहाँ गए पनि एक रात वस्ने गरेर गयौं भने धेरै कुरा गर्न पाईन्छ । एकआपसमा झन् नजिक हुने मौका मिल्छ । आन्तरिक पर्यटनको प्रवद्र्धन हुन्छ । नजिकै दिउँसो जाने हो भने साथीहरुलाई धेरै वेर रोक्न नसकिने देखेर नै एक दिन घरवास जाँदा उचित हुने भनेको थिए ।

जाने त भनियो तर कहाँ जाने, कति जना हुन्छौ, कहिले जाने भन्ने तय गर्न माधब आचार्यसंग कुरा गरेर सम्भब भएसम्मका साथीहरु पदम ढकालको ड्यामसाईडमा रहेको रेष्टुरेण्टमा भेला भएका थियौ । त्यहाँ फोन गर्ने वित्तिकै जयश्वर पौडेल, नारायण वराल, राजेन्द्र पोखरेल, देवि भण्डारी, रमेश पौडेल जम्मा भयौ र २९ गते समय निश्चित गर्यौ ।

त्यस पछि रमेश पहारी, पुष्प वराल, शिवजी वास्तोला, परशुराम लामिछाने डेभिजफलमा भेला भयौं । सकेसम्म धेरै साथीहरुलाई भेला पार्ने भनियो । शुक्ला गण्डकी नगरपालिका वडा नं. ९ की सदस्य गिता महतसंग पनि कुरा भयो ।काठमाण्डौमा मनोज पौडेल र सुमित्रा पराजुलीसंग पनि यो विषयमा कुरा भयो । सबैले राम्रो गर्नु भएको छ भने । विदेशको भुमिमा भएका रामजी वराल, ईश्वर शाही, तिलक वास्तोला, कृष्ण गुरुङ, शिब गुरुङ, मनमाया खत्री लगाएतका साथीहरुसंग पनि फेसबुकमा निरन्तर कुरा भई रह्यो । हामीलाई पढाउनु भएका नन्दलाल सरले पनि निकै चासोका साथ हामीलाई फलो गरि रहनु भएको थियो। उहाँ पनि हामी संगै जाने ईच्छा व्यक्त गर्नु भएको थियो ।

अन्तत माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा रहेको पोखराबाट २ घण्टामा पुग्न सकिने मिर्सा गाउँ जाने भईयो ।

२०७४ मंसीर २९ गते विहानै देखि साथीहरुलाई फोन गरें। हामी १ वजे न्युरोडमा भेला भएर जाने सल्लाह भएको थियो । हामी कम्तिमा पनि २० जना हुन्छौ भन्ने लागेको थियो तर अन्तिम अवस्थामा आएर त्यति हुन सकेनौं । हामी न्युरोडबाट मिर्साको लागि हिड्न लाग्दा माधब आचार्य, देवराज आचार्य, शिवजी वास्तोला, नारायण वराल, जयश्वर पौडेल र म भई जम्मा ६ जना भयौ। माधव आचार्यले आफ्नो एक जना साथीलाई जाने भए जाऔं भन्नु भयो । उहाँ आउनु भयो र हामी ७ जना भयौ ।

हामी यहाँबाट हिडेको जानकारी दिनको लागि सुर्य गुरुङ सरलाई फोन गरें । उहाँ खारपानी तिरै हुनुहुदों रहेछ । खारपानीमा रहेको स्कुलमा पढाउनु हुँदो रहेछ । स्कुलबाट फर्कि सक्नु भएको रहेछ । बुद्धिकुमारी गुरुङलाई फोन गरें। उहाँ त अहिले लामाचौर तिरै वस्नुहुँदो रहेछ । लामाचौरमा उहाँलाई भेटेर गाउँमा खबर गरिदिन अनुरोध गरियो ।

मैले ग्रामिण पर्यटनको विकासमा विगत लामो समयदेखि क्रियासिल गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ प्रदेश नं. ४ का संस्थापक अध्यक्ष तारानाथ पहारी र वर्तमान अध्यक्ष रविन्द्र राज पौडेललाई मिर्सा गाउँको बारेमा जानकारी लिएको थिएँ । उहाँहरुले पुर्व अध्यक्ष बुद्धिकुमारी गुरुङ, सल्लाहकार सुर्य गुरुङको सम्पर्क नम्बर दिनु भएको थियो ।

लामाचौर देखि नै वाटोे वनाउन थालिएको रहेछ । पिच गर्न ठिक्क पारिएकोले एकदुई किमि त राम्रो थियो। तर भुनपुरे तिर गए पछि सबै वाटो डोजरले खनेर कच्चि जस्तै वनाएको रहेछ । भुर्जुङखोला वजारहुदै त्यहाँबाट पाँच किमि अगाडि खारपानी लाग्यौ ।

खारपानी पुग्दा झोलुङ्गे पुल पारीबाट सुर्य सर हामीलाई पार्किङ देखाउन र स्वगात गर्न आउनु भयो । गाउँमा वाटो लाने भनेर दुईवटा स्काभेटरहरु खारपानी भन्दाअलि माथी थिए। उहाँले त्यो वाटोको जिम्मा आफुले लिएको वताउनु भयो । पुल पारी हामीलाई वेलकम टि पियाएर उहाँ त्यहि वस्नु भयो । हामी आउँदै गरेको गाउँमा खबर गरिदिनु भयो ।

त्यस पछि एकोहोरो नाकै छुने ठाडो भिरको वाटो लाग्यौ । भिरको पहरा फोरेर धेरै वर्ष पहिले वनाएको वाटोमा कुनै कुनै ठाउँमा पर्खाल लगाईएको रहेछ । वाटोमा दुई तिन ठाउँमा विश्राम गर्दै फोटाहरु खिच्दै रमाइलो गर्दै अगाडि वढ्यौं । गाउँ पुग्नै लाग्दा गुम्बा, चौतारी, धारा भएको ठाउँमा पुग्यौ । त्यस ठाउँलाई देउराली भन्दा रहेछन् । त्यहिँबाट पहिलो पटक अन्नपुर्ण हिमाल देखियो । हिमालमा अस्ताउन लागेको सुर्यको प्रकाश परेको थियो ।

हामी आउने पहिलो दिन नै थाहा भएकोले हामीलाई स्वागत गर्न आमाहरु तम्तयार भएर वस्नु भएको थियो । कसैले फुलको माला । कसैले अविर लिएर । हाम्रो प्रतिक्षामा वस्नु भएको रहेछ । हामीलाई स्वागत गरेपछि त्यहाँको चलन अनुसारको पानी, चिया, खाजा खायौ ।
खाजा खाए पछि साँस्कृतिक कार्यक्रम सुरु भयो । गुरुङहरुको वाहुल्यता भएको गाउँ भएकोले हामीलाई सोरठी नाच देखाए । सोरठी नाच विस्तारै लोप हुन लागेकोले घरबासमा आएका पाहुनाहरुलाई मनोरञ्जन पनि हुने । संस्कृतिको संरक्षण पनि हुने भएकोले युवाहरु लागि परेका रहेछन् । वेलुकी १० वजेसम्म संगै नाच्यौ । केहि साथीहरु दोहोरी गीत गाउन थाले । साँस्कृतिक कार्यक्रम पछि खाना खाएर हामीलाई सुत्न व्यवस्था गरिएको घर घरमा लैजानु भयो ।

भोलि पल्ट पुस १ गते विहान उठेर मुख घोईवरी, चिया र कोदाको रोटी, झिलिङ्गा खायांै । हिमाल हेर्न गाउँदेखि केही माथी कुलको मन्दिरमा जानु पर्ने रहेछ । बाटोमा भेडि गोठ पनि रहेछ । भलिबल ग्राउण्ड हुँदै हामी भेडि गोठ भएको स्थान तिर गयौं । केहि युवाहरु भलिबल खेल्दै गरेका थिए ।

भेडाको ऊन काटेको वेला परेछ । भेडाहरु दुब्ला, पालतो, छ्याकछ्याके देखिन्थे । हामी अगाडि बढ्न लाग्दा अजंगको भोटे कुकुर भुक्दै आयो । हामीलाई बाटो देखाउन गएकी सानी नानी सिमा गुरुङले आउनुस् केहि गर्दैन भन्दै अगाडि भएपछि हामी गोठमा पुग्यौ । कुकुरले सबैलाई पालैपालो खुट्टामुनी सुँधेर चेकजाँच गरे पछि हामीहरु भेडी गोठमा गयौ ।

भेडा झट्ट हेर्दा दुईतिन सय होलान भनेको त पाँच सय भन्दा बढि रहेछन् । ति भेडाहरु उनै सुर्य गुरुङ रहेछन् । कुकुरलाई तालिम दिएका कारण यदि त्यहाँको भेडा कसैले छोएमा कुकुरले टोक्ने रहेछ । एउटा कुकुर त व्याएको पनि रहेछ । दुईटा छाउराहरु पाएको रहेछ । हामीले त्यहाँको फोटोहरु खिचें पछि अगाडि बढ्यौ । देवराज आचार्य साथी जान सक्नु भएन त्यही वस्नु भयो हामी ६ जना मन्दिरबाट अन्नपुर्ण हिमाल हेर्न गयौ।

केहि मिनेटको ठाडो उकालो चढे पछि मन्दिरमा पुग्यौ । अन्नपुर्ण हिमाललाई नजिकैबाट अर्कै स्वरुपमा हेर्ने मौका मिल्यो । सबै साथीहरुले व्यक्तिगत तथा सामुहिक फोटा खिचेर फर्कियौ । पुनः त्यहि मुल घरमा आयौं । खान तयार भएको रहेछ । खाना खायौं । घरबास संचालकहरुले हामीलाई विदाईको तयारी गर्नु भयो । हामीलाई घरबासकी अध्यक्ष बनसुवा गुरुङ लगाएत समितिका सदस्यहरुले अविर र फुलको माला लगाएर फेरी फेरी आउन आग्रह गर्नु भयो ।

पोखराबाट नजिक भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँ मिर्सा पुगे पछि कुनै पनि साथीहरुले मन अमिलो वनाउन परेन् । अझै अन्नपुर्ण हिमाललाई नजिकै पुगेर हेर्न अवसर पाईयो ।