म्याड्रिडले जित्यो “एनआरएन कप” को उपाधि


बार्सिलोना/ दुई ठुला महारथी फुटबल क्लवहरु रियल म्याड्रिड र बार्सिलोना बिचको एलक्लासिको नजिकिदै गर्दा स्पेनका नेपालीहरु पनि फुटबलमा भिडेका छन्। रियल र बार्सिलोनाका खेलहरुलाई नजिकबाट हेर्दै बहसमा जुट्ने नेपालीहरु आँफै पनि फुटबलमा भिडेका हुन्।

 आईतबार बार्सिलोनामा सम्पन्न “एनआरएन कप” को उपाधि एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको टिमले उचालेको छ। बार्सिलोना क्षेत्रको टिम गोर्खाजलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै म्याड्रिडले उपाधि चुमेको हो। प्रतियोगितामा सुजुरन ब्याईज,टिम माउन्ट एभरेष्ट, तमु समाज,नेपाली जनसम्पर्क समिति र जनप्रगतिशील मञ्चले भाग लिएका थिए।उपाधि सँगै बिजेता टिमले नगद ४०१ युरो र उपविजेताले २५१ युरोको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाप्त गरेका छन्। म्याड्रिडका आकाश थापा प्रतियोगिताका उत्कृष्ट खेलाडी बने। बालबालिका र महिलाहरुको समेत छुट्टाछुट्टै टिम बनाई मैत्रीपूर्ण खेल खेलाईएको थियो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको प्रतियोगिता यस अघि सुजुरन ब्याईजले लगातार तिन पटक जित्दै ह्याट्रिक गरेको थियो। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य द्वय मुक्त बहादुर गुरुङ,शितल भुर्तेल भुसाल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

एनआरएन स्पेनका सचिव तथा प्रतियोगिता संयोजक दिनेश गिरीले कार्यक्रम सफल पार्न सहयोग पुर्याउँने स्पेन स्थित नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्।