सस्तोमा सामान पाइने लोभमा पर्दा पोखरेली ठगीए


पोखरा – सस्तोमा सामान पाइने लोभमा परेपछि पोखरेलीहरु ठगीएका छन् । बजारमा पाइने भन्दा दोब्बर सस्तो मुल्यमा सामान पाइने लोभले धेरै पोखरेली ठगीएका छन् । पोखराको सिर्जनाचोकमा डेढ महिना अघि भारतिय नागरिकले संचालनमा ल्याएको अक्सिजन ट्रेडर्सले अग्रिम पैसा लिँदै वजारमुल्य भन्दा झण्डै आधा मुल्यमा सामान विक्री गर्दै आएको थियो । अग्रिम पैसा वुझाएको हप्ता दिनमा आधा छुटमा सामान पाईने लोभमा फसेका सर्वसाधारण ठगीएका छन ।सर्वसाधारणसँग अग्रिम पैसा लिने र दुई सातापछि सामान डेलिभरी गरेको उसले सर्वसाधारणको कराडौँ रुपैयाँ लिएर ब्यक्ति सम्पर्क विहिन भएपछि ठगीएको कुरा बाहिर आएको हो ।

शनिवारदेखी वन्द रहेको पसल सोमवार पनि नखुल्दा सर्वसाधारण ठगिएको महशुस गर्दै विहानैदेखी पसल अगाडी सर्वसाधारणको भिड लाग्न सुरु भयो । ट्रेडर्सले एउटै व्यक्तिसंग १ हजारदेखी ५ लाख रुपैयाँसम्म लिएका वुझिएको छ । राष्ट्रवैचोकका रिजन नेपालले ३२ ईन्चको एलजी टिभि खरिदको लागि २२ हजार अग्रिम वुझाउनु भएको थियो । जुन सामानको बजार मुल्य झण्डै ४० हजार रुपैयाँ पर्दछ । दुई हप्तापछि सामान लिन आउन भनेकोमा सोमबार पसल वन्द गरेर साहु सम्पर्कमा नहुँदा पैसा डुवेको पत्ता लागेको नेपालले बताउनुभयो ।

ईलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामानहरु एडभान्स पैसा लिदै आधा छुटमा दिएपछि सर्वसाधारण लोभिएका थिए । शनिवार वेलुकीदेखी पसल वन्द भएको र सम्पर्कमा नरहेको स्थानीयको भनाई छ । विलमा रहेको नम्वरमा सम्पर्क गर्दा समेत सम्पर्क हुन सक्दनै । केही दिन अगाडीमात्र प्रहरीले अनुशन्धानको लागि भन्दै ट्रेडर्सका साहुलाई नियन्त्रणमा लिएर सोधपुछ पछि रिहा गरेको थियो ।